काँकडभिट्टा, १७ फागुन : जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ ।
पाँचजनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम तिर्दा एक वर्षसम्म रु ५० हजारको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लामा स्वास्थ्य बीमा लागू गरेको छ ।
तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आबद्ध हुनेहरु न्यून भएका हुन् ।
झापामा गत मंसिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे तीन महिनामा दुई हजार १६१ जनाले मात्र बीमाको सदस्यता लिएका छन् ।
झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९१९ जनाले बीमा गराइसकेका छन् । मेचीनगरको जनसंख्या हाल एक लाख ११ हजार ७९७ रहेको छ ।
मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं १० मा सबैभन्दा बढी ५१५ जनाले बीमा गराएका छन् । (रासस)