Logo

लोकतन्त्रका लागि मुश्लिम समुदायको महत्वपूर्ण योगदान : पूर्वमन्त्री गौतम



गुलरिया, बर्दिया, १७ फागुन / नेपाली काँग्रेसका नेता एंव पूर्वमन्त्री सञ्जयकुमार गौतमले लोकतन्त्रको स्थापनाका लागि नेपालका मुश्लिम समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल मुश्लिम संघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनलाई आज गुलरियामा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“मुश्लिम समुदायको सहयोग, साथ र समर्थनले काँग्रेसले हरेक आन्दोलन र निर्वाचनमा सफलता प्राप्त गरेको छ ।”

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गौतमले अनुशासित र मर्यादित भई काँग्रेसको संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

प्रदेशसभा सदस्य एवं नेपाल मुश्लिम संघका केन्द्रीय सदस्य याकुव अन्सारीले गुटउपगुटमा नलागी सिंगो नेपाली काँग्रेसको संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य भुवनेश्वर थारुले नेपाल संघीय संरचनामा गइसकेको अवस्थामा काँग्रेसका संगठन पनि संघीय संरचनाअनुसार निर्माण हुनुपर्नेमा जोड दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्