Logo

देउवालाई दलको नेता बन्नबाट जसरी पनि रोक्ने रणनीतिमा पौडेल पक्ष, यस्तो छ तयारी



फागुन १८, काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुने अवस्था निम्तिएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

महामन्त्री शशांक कोइरालाले आफ्नो नाममा सहमतिको प्रयास गरिरहेका छन् भने सिंहले भने जस्तोसुकै अवस्थामा पनि देउवासँग भिँड्ने बताएका छन् ।
देउवाले पनि आफू नै दलको नेता बन्ने बताइसकेको अवस्थामा कोइराला पछाडि हट्ने सम्भावना छ भने सिंहले हार्ने नै भए पनि चुनाव लडेर देउवाको प्रतिस्पर्धीको रुपमा स्थापित हुने रणनीतिमा देखिन्छन् ।

कांग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ ।

पार्टी महामन्त्री कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गर्नुभएको दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताएका थिए ।

कांग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।

महामन्त्री डा. कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।
जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अवस्था छ ।

यद्यपी पौडेल पक्षले जसरी भए पनि देउवालाई संसदीय दलको नेता बन्नबाट रोक्ने प्रयास अन्तिमसम्मै गर्ने संकेत गरेको छ ।
शुक्रबार पौडेल पक्षका नेताहरु दिनभरजसो छलफलमा जुटेको स्रोतले जानकारी दियो ।

देउवाले छोडेको खण्डमा पौडेल पक्षले कोइराला र सिंहमध्ये जो भए पनि अघि सारेर सर्वसम्मत बनाउने पहिलो विकल्प खोजेको छ ।
देउवाले अडान नछाडे देउवा पक्षका सासंदहरुलाई फकाउने, सम्झाउने तयारीमा पौडेल पक्षले छलफल गरिरहेको स्रोतले बतायो ।

देउवा र देउवा पक्षका सासंदले अहिलेको परिस्थितीलाई मनन नगरी संसदीय दलमा देउवालाई नै जिताएको खण्डमा आगामी दिनमा भिँड्दै जाने रणनीति लिइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्