Logo

रक्तसञ्चार केन्द्रको भवन प्रदर्शनी मार्गमै बन्ने, आज शिलान्यास (फोटोफिचर)



काठमाडौँ, १८ फागुन : रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ ।

विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको ग्वार्काेबाट सञ्चालित हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्याण्ड(थाई) रेडक्रसले करीव रु ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गर्नुभयो ।

सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ ।

सर्वाेच्च मानवीय सस्था नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पु¥याएको छ ।

केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो ।

कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिनुभयो ।

कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा बोल्नुभएको थियो ।(रासस)

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्