Logo

जनताको सेवक हौँ भनेर प्रमाणित गर्ने बेला आयो : प्रचण्ड



काठमाडौं, फागुन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता सम्पन्न नभइकम समाजवाद सम्भव नभएको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित सांसदहरूको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

इतिहासमा नेता र पार्टीले सही निर्णय गर्दा सय वर्षपछि हुने काम सय वर्ष पहिला नै सम्भव हुन सक्ने पनि प्रचण्डले बताए । उनले भने,‘यो सानो घटना होइन। अन्य दल र कम्युनिस्टहरूबीच धेरै कुरामा फरक छ । हामी विचार, सिद्धान्तबाट निर्दे्शित छौँ त्यसकारण हामी सामाजिक वैज्ञानिक हौँ। अन्य दल र हामी कम्युनिस्ट पार्टीबीच धेरै फरक हुन्छ ।’

‘प्रचण्डले भने,‘निकै मिहिनेत गरेर धेरै अप्ठ्याराका बावजुद हामीले संविधानसभाबाट संविधान बनाएका हौँ ।’ वाम गठबन्धनलाई प्राप्त भएको झण्डै दुई तिहाइ बहुमतको अनुभव मुलुकलाई सुशासन, स्थायित्व र विकास गर्ने बताउँदै भने,‘जुन संकल्प जनतासमक्ष गरेका छौँ त्यसका लागि जनताले हामीलाई विश्वास गरेका हुन्। लामो समय नेपालमा राजामहाराजाको राज रह्यो। उनीहरूले जहिले पनि जनतालाई रैती ठाने। कर्मचारीतन्त्रले जनतालाई रैती ठान्ने, पार्टी्भित्र पनि माथिल्लो तहले तल्लो तहलाई रैती ठान्ने परम्परा देखियो। तर, अब नेपालमा राजामहाराजाको राजको अन्त्य भइसकेको छ।’

जबसम्म सुशासन, समृद्धि गर्न सक्दैनौं तबसम्म समाजवाद हवाई कल्पना मात्र हो। अहिलेको फोहोर सफा गरर मात्र विकासको कल्पना गर्न सकिन्छ। हामी पदका लागि होइन जनताको सेवा गर्ने सेवक हौँ भनेर प्रमाणित गर्ने बेला आएको प्रचण्डको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्