Logo

मुलुक समृद्ध पार्न राजनीतिले मात्रै पुग्दैन्, अब गुणस्तरीय शिक्षाको खाँचो : धमला



काठमाडौं, १९ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकको विकास र समृद्धि हाँसिल गर्नको लागि पनि गुणस्तरीय शिक्षा देशव्यापी रुपमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार एडी चामुण्डा ईन्स्टिच्यूटको आयोजनामा जोरपाटीमा सम्पन्न ‘म्याथमेटिक्स् एक्जामिनेशन–२०७४’ पुरुस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलाले अब मुलुकको विकासमा टेवा पुर्याउने खालको गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाहरुसँग आग्रह गरेका हुन् ।

धमलाले सम्बोधनको क्रममा भने,‘अब हामीले साँच्चिकै देशमा गुणात्मक विकास हाँसिल गर्ने हो भने शिक्षामा हामीले आमुल परिवर्तन गर्नुपर्छ, पास वा फेल गर्ने खालको शिक्षा नीतिले हुँदैन, गुणस्तरीय शिक्षा प्रदान गर्नतिर जोड गर्नुपर्छ।’

उनले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सबै शैक्षिक सरोकारवालाहरुले आजैदेखि पहलकदमी लिनुपर्नेमा जोड दिए । ‘गाउँ–गाउँमा गुणस्तरीय शिक्षा पुग्नुपर्यो, गाउँपालिका र नगरपालिकाकासम्म पहुँच र प्रभाव पुर्याउनुपर्छ’ उनले थपे,‘यस्तो गर्न सकिएमात्रै मुलुकको विकासमा टेवा पुग्न सक्छ।’

मुकलुकमा गुणस्तरीय शिक्षा नभएकै कारण लाखौं युवाहरु आज विदेशिन बाध्य भएको गुनासो पोखे । ‘यो हाम्रो लागि बडो बिडम्बनाको कुरा हो, हामीले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न सकेको भए, आज हाम्रा जबान युवाहरु खाँडी मुलुकमा आफ्नो श्रम बेच्न जानुपर्दैनथियो, यो त देशकै लागि ठूलो दुःखको कुरा हो’–उनले भने।

धमलाले आफू अब देशव्यापी रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने अभियान लिएर यात्रामा निस्किने पनि विश्वास दिलाए । उनले भने,‘मेरो अभियान अब गुणस्तीय शिक्षा र स्वास्थयको लागि हुन्छ । मुलुकमा मैले राजनीति स्थायित्वको लागि धेरै बहस गरें, अबको बहस भनेको आर्थिक समृद्धितर्फ हुन्छ, यसको लागि पहिलो आधार भनेको नै शिक्षा र स्वास्थ्य भएकोले म गुणस्तरीय शिक्षा गाउँको दुरदराजमा पनि पुर्याउनुपर्छ भनेर लागिपर्छु।’

उनले गुणस्तरीय शिक्षासँगै प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा पाउनुपर्ने पनि बताए । देशलाई समृद्ध पार्न राजनीतिले मात्रै नपुग्ने भन्दै गुणस्तरीय र प्राविधिक शिक्षाको खाँचो रहेको धमलाको भनाई थियो । ‘अब हामी गुणस्तर र प्राविधिक शिक्षामा लगानी गरौँं, परम्परागत शिक्षामा लगानी गरेर बेरोजगार उत्पादन गर्नुहुँदैन,’ उनले भने ।

कार्यक्रममा धमलाले उक्त प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार प्रदान गरेका थिए । ईन्स्टिच्युटका प्रबन्ध निर्देशक दिपक रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिसान, ऐन–प्यावसन र प्यावसनका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्