Logo

२४ सै घण्टा सडक खोल्ने प्रदेश सरकारको निर्णयको कालिकोटमा विरोध



विश्वनाथ सिम्खडा: कालिकोट, १९ फागुन । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डमा साना सवारी साधनलाई २४ सै घण्टा खुला गर्ने कर्णाली प्रदेश सरकारको निर्णयको सरोकारवालाहरूले विरोध गरेका छन्।

कर्णाली प्रदेश संघीय मामिला तथा कानुन मन्त्रालयले सडक सुरक्षाका लागि तयार पारेको ४० बुँदे कार्यक्रमका विषयमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालाहरूले जोखिमयुक्त कर्णाली राजमार्गमा स्तोरोन्नति बिना नै २४ सै घण्टा यातायात सञ्चालन गर्ने प्रदेश सरकारको निर्णयको विरोध गरेका हुन्।

सवारी दुर्घटना न्यूनीकरणका लागि कर्णाली राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म यातायात सेवा बन्द गरिँदै आएकोमा प्रदेश सरकारले ठूला सवारी साधन राति १० देखि बिहान ५ बजेसम्म बन्द गर्ने तर साना सवारी साधनलाई जुनसुकै बेला सञ्चालन गर्न दिने निर्णय गरेपछि कालिकोटवासीले विरोध जनाएका हुन्।

जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीको अध्यक्षतामा भएको छलफलमा रारा कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष हष्तबहादुर बमले सडकको स्तोरोन्नति नभएसम्म साना गाडी पनि बन्द गरिनुपर्ने बताए।

ज्यानमारा राजमार्गका रुपमा चिनिएको कर्णाली राजमार्गमा स्तोरोन्नति बिनै २४ सै घण्टा यातायात सञ्चालन गर्दा विगतका जस्तै ठूला दुर्घटना हुनसक्ने वक्ताहरूले बताए।कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड सञ्चालन भएदेखि हालसम्म साना ठूला गरी १ सय ५९ वटा सडक दुर्घटना भएका छन्।

यी मध्ये ८५ वटा दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् । दैलेखमा २९ र जुम्लामा २१वटा दुर्घटना भएका छन् भने अन्य दुर्घटना सुर्खेतको बाङगेसिमलदेखि कल्याणकाधसम्मको सडक खण्डमा भएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनाहरूमा हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २४३ भन्दा बढी घाइते भएका छन्। यी मध्ये ९३ जना दुर्घटनाका कारण अंगभंगरअपांग छन्।कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक २०६३ चैत्र ३० गतेदेखी संचालनमा आएको हो।

जिल्ला प्रहरी प्रमुख सुभासचन्द्र बोहोराले कालिकोटको सडक खण्डमा रातमा पनि सवारी सञ्चालन भएपनि सञ्चार अभावका कारण राजमार्गमा ठूलो जोखिम मल्नुपर्ने अवस्था रहेको बताए ।

अधिकांश दुर्घटना दैलेखको साइगाउदेखि कालिकोटको राचुली छिडेनासम्मको ८८ किलोमिटर सडक खण्डमा भएको प्रहरीले जनाएको छ। सा‘घुरो बाटो, मर्मत सुधारको अभाव, अत्याधिक मोड र पुराना गाडी र चालकको लापरबाही जस्ता कारणले धेरै दुर्घटना हुने गरेको छ।



प्रतिक्रिया दिनुहोस्