Logo

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणपछिमात्रै मन्त्रिमण्डल विस्तार हुने



काठमाडौं, १९ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमण भएकोले सोमबारसम्म मन्त्रिमण्डल विस्तार नहुने भएको छ ।

दुईदिने नेपाल भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री अब्बासी सोमबार काठमाडौं आउँदैछन् । सरकारले दिएको जानकारी अनुसार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी काठमाडौं आउन लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन पाकिस्तानका प्रधानमन्त्री साहिद काठमाडौं आउन लागेको एमाले नेता डा. राजन भट्टराईले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

विशुद्ध द्विपक्षीय कूटनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेर पाकिस्तानका प्रधानमन्त्रीले २४ वर्षपछि गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो । यसअघि सन् १९९४ मेमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनिजिर भुट्टोले द्विपक्षीय सम्बन्धलाई बढावा दिन नेपाल भ्रमण गरेकी थिइन्।

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणसँगै भोलि वा पर्सी हुने भनिएको मन्त्रिमण्डल विस्तार केही दिनलाई पर धकेलिएको छ । अब्बासीको भ्रमणपछिमात्रै क्याबिनेट विस्तार हुने विशेष सूत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्