Logo

दुवै सदनका सासंदहरुले आज शपथ लिँदै, हिन्दुसहित ११ भाषामा शपथ ग्रहणको तयारी



फागुन २०, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद)का सदस्यहरुले आइतबार शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले दुवै सदनका सासंदहरुको शपथ ग्रहण गराउनुअघि राष्ट्रपतिबाट एक बजे दुवै सदनका जेष्ठ सदस्यहरुलाई शपथ ग्रहण गराईने जानकारी गराए ।

प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सासंदहरुलाई शपथ ग्रहण गराउनेछन् ।

राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।
सर्लाही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वा्चित यादव ८० वर्ष र भट्ट ६९ वर्ष रहेको संसद सचिवालयमा अभिलेख छ । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ ।

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।
शपथ ग्रहणका लागि सासंदहरुले निर्वाचित भएको प्रमाणपत्रसहित आउनुपर्ने गौतमले बताए ।

शपथ ग्रहण मुलत राष्ट्रिय भाषामा हुने भए पनि कानुनी व्यवस्थाअनुसार सासंदहरुले आफ्नो मातृभाषामा पनि शपथ ग्रहण गर्न पाउने गौतमले जानकारी दिए ।
मूल भाषाको रुपमा नेपाली भाषा, मातृभाषाको रुपमा मैथिली, भोजपुरी, थारु, मगर, अवधि, वर्जिका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी ११ भाषामा शपथ ग्रहण हुने गौतमले जानकारी दिए ।

दुवै संसद गरी ४४ जना सासंदले मातृभाषामा शपथ ग्रहण गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको गौतमले बताए ।
परम्पराअनुसार राष्ट्रिय पोषाक र भाषा संस्कृति झल्किने पोषाक पनि सासंदले लगाउन पाउने उनले बताए ।

भोली बस्ने संसद अधिवेशनका बारेमा जानकारी दिदै गौतमले सुरुमा राष्ट्रपतिले संसद अधिवेशन बोलाएको पत्र पढेर सुनाउने कार्यतालिका रहेको बताए ।

ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गरेपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रीमण्डल गठनको पत्रहरु पनि विधिवत रुपमा संघीय संसदमा प्रवेश गर्ने उनले बताए ।

त्यसपछि दुवै सदन संचालनको नियमावली निर्माण प्रक्रिया सुरु हुने छ । नियमावली नबनेसम्मका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने गौतमले बताए ।

भोली बस्ने पहिलो बैठकले नै अन्तरिम कार्यविधि पारित हुनेछ । त्यसपछि भोलीको २१ दिनभित्र दुवै सासंदको सभामुख र उपसभामुखको चुनाव हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

त्यसैगरी ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सबै कार्यतालिकाका बारेमा दलहरुसँग आज १० बजे बैठक बस्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्