Logo

सांसदलाई ठाकुरबाट शपथ



काठमाडौँ, २० फागुन : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ ।

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो । नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उहाँपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने निश्चित भएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष ठाकुरलाई आजै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुहुनेछ । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गर्नुभएको छ । त्यसअघि आज दुवै सदनका सदस्यको शपथ हुन लागेको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्