Logo

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण सद्भावपूर्ण : डा. भट्टराई



काठमाडौं, २० फागुन । नेकपा एमालेका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको भोलि हुने दुई दिवसीय नेपालको औपचारिक भ्रमण सदभावपूर्ण भ्रमण हुने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाई दिने ईच्छा व्यक्त गर्नुभएकोले उहाँ भोलि आउँदैहुनुहुन्छ, बधाई दिन आउन लाग्नुभएकोले हामी उहाँलाई स्वागत गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणमा ठूलो र विशेष एजेण्डा नभएको पनि जिकिर गरे । डा. भट्टराईले अघि थपे,‘उहाँको स्वागतको लागि हाम्रो प्रधानमन्त्रीले डिनर आयोजन गर्नुहुन्छ, भोलि अपरान्हमा आएर पर्सी विहानै उहाँ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।’

नेता भट्टराईले नेपालको राष्ट्रिय नीति अनुसार नै विदेश नीति सञ्चालन हुने बताए । उनले थपे,‘डोमेस्टिक पोलिसीकै रिफ्लेक्शन विदेशी नीति हुन्छ, हाम्रो राष्ट्रिय नीति भनेको अब आर्थिक समृद्धि हाँसिल गर्नु हो, समृद्धिको लागि हामीले सोही अनुसार कदम चाल्नुपर्छ, जनताको जीवनमा सकारात्मक परिवर्तन गर्नु हो, पूर्वाधार, सडक, रेल, पर्यटन, जलस्रोत, कृषि लगायत विकासको बाटोमा उन्मुख हुनुपर्छ।’

सरकारकै नीति आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले सोही अनुसार नेपालका विदेशमा रहेका कुटनैतिक नियोग, मन्त्रालयहरु सबैको विषय अब हाम्रो विकाससँग सम्बन्धित हुने उनले विश्वास दिलाए ।

नेपालको विकासको लागि आन्तरिक स्रोत र साधनले नपुग्ने भएकोले अन्र्तराष्ट्रिय सद्भाव र सहयोगको खाँचा हुने उनको भनाई थियो । उनले भने,‘यसमा हामी नजिकका छिमेकीहरुसँग धेरै सहकार्य गर्छौं।’

पाकिस्तानी प्रधानमन्त्री आब्बासीको नेपाल भ्रमणमा सार्कलाई सामूहिक रुपमा कसरी अघि बढाउन सकिन्छ भन्नेमा पनि छलफल हुने उनको संकेत थियो ।
त्यस्तै भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिईसकेको बताए ।

उनले भने,‘यसअघि नेपाल भ्रमणमा आउँदा मोदीजीले नेपालका केही खास ठाउँमा भ्रमण गर्न पाउनुभएको थिएन, उहाँको अधुरो रहेका ठाउँको भ्रमण गराउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ, मुक्तिनाथ र जनकपुर, उहाँको नेपाल भ्रमणको मिति छिटोभन्दा छिटो टुँग्गिन्छ।’

नेपालका प्रधानमन्त्री ओली पहिले कुन देशको भ्रमणमा जाने ? भन्नेबारे अहिले कुनै टुँगो नलागेको उनले स्पष्ट पारे । भट्टराईले थपे,‘हामीसँग जो सँग बढि आवश्यकत्ता पर्छ, कहाँ जानुपर्ने हुन्छ, त्यहीँ जान्छौं, भारत, चीन, वा अन्य देश जहाँ पनि हुनसक्छ।’

उनले नयाँ सरकार र भारतबीच अत्यन्तै सद्भावपूर्ण सम्बन्ध रहेको पनि विश्वास दिलाए । उनले थपे,‘बदलिँदो परिस्थिति अनुसार दुई देशबीचको सम्बन्ध पनि नयाँ उचाईमा जानुपर्छ, अहिले यही किसिमको वातावरण अघि बढिरहेको छ, हामी हाम्रो राष्ट्रिय हित र स्वार्थलाई केन्द्रविन्दु बनाएर हाम्रो सम्बन्ध अघि बढाउछौं।’

 



प्रतिक्रिया दिनुहोस्