Logo

साझा प्रकाशन बचाउने प्रचण्डको प्रतिबद्धता



काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा प्रकाशनका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साझा प्रकाशनमा आयोजित माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरिको बोटमुनि’ निबन्ध संग्रहको विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले साझा प्रकाशनले झेल्नुपरेका समस्या हल गर्न सरकार र पार्टीका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको हो ।

साझा बचाउने कुरा नेपाली भाषा साहित्यको रक्षा, नेपाल राष्ट्रको एकता, नेपाली मनोविज्ञान र भावनाको कदरसँग सम्बन्धित छ भन्ने बुझाई रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले विगतका दिनमा साझालाई जोगाउन सहयोग गरेको समेत स्मरण गर्नुभयो । ‘मेरो यही बुझाईका कारण यो अभियानमा लाग्नुहुने सबैप्रति श्रद्धा र ऐक्यबद्धता रहँदै आएको छ,’ अध्यक्षले भन्नुभयो, ‘विगतमा राजनीतिज्ञ र प्रधानमन्त्रीको हैसियतले सहयोग गरेकै है, तर त्यो पर्याप्त भएको छैन ।’

आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्नुहुँदै अध्यक्ष प्रचण्डले आफू प्राकृतिकरुपले नै अलि बढी संवेदनशील रहेको बताउनुभयो । ‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु । उपन्यास र निबन्ध पढ्दा पनि भावुक हुन्छ,’ अध्यक्षले भन्नुभयो, ‘राजनीति र घटनाक्रमको चपेटामा मैले चाहेजस्तो समय दिन र ध्यान दिन सकेको छैन । अहिले म जे चाहन्थे, दीनानाथ जीले त्यो अभिव्यक्त गर्नुभएको छ ।’

‘सबै जनता र संघसंस्थाको आशा र आंकांक्षा छ, पारदर्शी, गुणात्मक, परिवर्तन संस्थागत हुने गरी र परिणाममुखी काम होस्,’ उहाँले भन्नुभयो, ‘साझाको रक्षा गर्न र नयाँ उपस्थिति अनुसार अगाडि बढाउन नयाँ सरकार दृढ हुन्छ भन्ने विश्वास छ । साझाका समस्या समाधान गर्न सरकारले गम्भीर रुपले पहल गर्नेछ ।’

नेपाल राष्ट्रलाई एकतावद्ध गर्ने तथा समृद्धि र सुशासनको जनताको आकांक्षा पूरा गर्न पार्टी एकता प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्टी एकता सबैको चाहनाको अभिव्यक्ति हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित गर्दै प्रचण्डले एक जना १४ वर्ष जेल बसेर, एक जना १४ वर्ष वनवास बसेर अनेक उतारचढाव भोगेर अब एक हुने ठाउँमा पुगेका बताउनुभयो । ‘राष्ट्र बलियो बनोस् भन्ने जनताको चेतना र चाहना हुँदैनथ्यो भने यो सम्भव थिएन,’ उहाँले भन्नुभयो, ‘अन्ततः इतिहासको निर्माता जनता नै हुन् भन्ने प्रमाणित भएको छ । अब समय फेरिएको छ, श्रमद्वारा सिर्जना गर्ने जनता नै इतिहासका निर्माता हुन् ।’



प्रतिक्रिया दिनुहोस्