Logo

ऋषि धमलासँग प्रचण्डले सुनाए सरकारका प्राथमिकता



काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका प्राथमिकताहरु सार्वजनिक गरेका छन् ।

नयाँ बानेश्वरस्थित् अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभा सदस्यहरुको सपथग्रहण सम्पन्न भएलगत्तै पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता भनेको विकास र समृद्धि हाँसिल गर्नु रहेको सुनाए ।

उनले भने,‘हामीसँग मुख्य चार प्राथमिकता छन्, सुशासन, भ्रष्टाचार अन्त्य, समृद्धि र विकासको लागि जाने हो, त्यस्तै संघीय ऐनकानून बनाउने ।’ उनले पहिलो काम आफूहरुको प्राथमिकतामा सुशासन परेकोले यहीबाट काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै फरक प्रसँगमा उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि सकारात्मक कुराकानी भैरहेको सुनाए । उनले थपे,‘हामी दुई तिहाईको सरकार बनाउँदैछौं, उपेन्द्रजीसँग पनि सहमति हुन्छ, त्यसैले यो सरकारले नयाँ किसिमले काम गरेर देखाउँछ, अहिलेको अवस्थामा जनतालाई प्रत्यक्ष राहतको अनुभुति दिलाउनु हाम्रो पहिलो कर्तव्य हो ।’

अध्यक्ष दाहालले एमाले–माओवादी केन्द्रवीचको एकता भैसकेको सुनाए । उनले भने,‘पार्टी एकता भैसक्यो, घोषणा हुन मात्रै बाँकी छ । अब हामी सशक्त रुपमा विकासको अभियान सुरु गर्छौं ।’

प्रचण्डका अनुसार चैत्रको पहिलो हप्तभित्रै बृहत्त पार्टी एकता घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्