Logo

दलको नेतामा सिंह जित्लान त ? यस्तो छ भोटको हिसाव किताव



काठमाडौं २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव हुसँदैछ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस संसदीय दलको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठका अनुसार  बिहान सवा ८ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय दिइएको छ।  वैले जित्ने दावी गरेका छन् ।

कांग्रेसबाट चुनावमा प्रत्यक्षतर्फ निर्वाचित २३ सांसदमध्ये देउवाको पक्षमा ६ जना छन् । समानुपातिकतर्फको ४० मा भने देउवा पक्षमा ३० जना छन् । संसदीय दलको नेता चुनिन कम्तिमा ३२ भोट चाहिन्छ ।

त्यो संख्या देउवासँग छ । तर, गोप्य मतदान हुने भएका कारण यसै भन्न सकिने अवस्था कांग्रेसभित्र रहन्न भन्ने कुरा विगतका निर्वाचनले पुष्टि गरिसकेको छ ।  ०६३ सालमा संसद पुनःस्थापना हुँदा देउवाको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा ४१ जना सांसद थिए । संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध खडा भएका विजयकुमार गच्छदारलाई प्रस्तावक र समर्थक जुटाउन धौ–धौ परेको थियो । तर, चुनावी परिणाम आउँदा देउवाले ५ भोटले मात्रै जिते । गच्छदारले १८ भोट ल्याए भने देउवाले २३ । गच्छदारले तीन भोट मात्रै तानेको भए देउवा समाप्त हुने अवस्था देखिएको थियो ।

यतिवेला पनि देउवा पक्षमा निकै ठूलो असन्तुष्टि छ । मतदान गोप्य हुने भएकोले देउवा ढुक्क देखिएका छैनन् । यसैगरी ०५८ सालमा देउवा र सुशील कोइराला प्रतिस्पर्धा गर्दा पनि त्यस्तै अवस्था थियो । त्यतिवेला कोइराला पक्षमा ७२ सांसद र देउवा पक्षमा ४३ सांसद देखिएका थिए तर चुनावी परिणाम ठीक उल्टो आयो । देउवाले ७२ भोट ल्याए भने कोइरालाले ४३ । गोप्य मतदानमा जे पनि हुन्छ भन्ने कुरा कांग्रेसभित्र यसअघि पनि पटकपटक प्रमाणित भएको छ । यतिवेला देउवा पक्षमा देखिएका ३६ मध्ये सिटौला र गच्छदारका तीन÷तीन जना र खुमबहादुरका दुई जना छन् ।

चुनाव जित्ने सुनिश्चित नभए पार्टी सभापति मैदानमा उत्रनु हुन्न भन्ने तर्क देउवा समूहमा निकै बलियो छ । तर, उम्मेदवार नबन्नु र चुनाव हार्नु उस्तै–उस्तै भएका कारण कुनै हालतमा चुनाव लड्नै पर्ने तर्क गर्नेहरू पनि देउवा समूहमा छन् । महामन्त्री डा. कोइराला अघि सरेको भए देउवालाई चुनाव जित्न निकै भारी हुने अवस्था थियो । तर, प्रकाशमानलाई सिटौला समूहले साथ दिने संभावना छैन । सिटौला र प्रकाशमानको संबन्ध राम्रो छैन । संसदीय दलमा सिटौलाका तीन जना छन् ।

जसमध्ये सिटौलाले निर्देशन दिएमा गगन थापा र उमाकान्त चौधरीले प्रकाशमानलाई मत दिन सक्छन् तर भीमसेनदास प्रधानले भने कुनै हालतमा पनि प्रकाशमानलाई मत दिने संभावना छैन । यसैगरी विजय गच्छदारसँगको तीन भोट र खुमबहादुर खड्कासँगको दुई भोट पनि अर्थपूर्ण छन् । कोइराला परिवारले प्रकाशमानलाई हार्दिक रूपमा साथ दिँदैन, त्यसैले तपाईंले चुनाव जित्नुहुन्छ भन्दै देउवालाई उकास्नेहरूको पनि कमी छैन ।



प्रतिक्रिया दिनुहोस्