Logo

शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट, अर्थमन्त्रीप्रति लगानीकर्ता आक्रोषित



फागुन २१, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १६ दशमलब छ नौ अंकले घटेर एक हजार दुई सय सतासी दशमलब सात चार अंकमा पुगेको हो ।

यसअघि आइतबार परिसुचक ४१ अंकले घटेको थियो । आज क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलब दुई चार अंकले घटेर दूई सय त्रिहत्तर दशमलब पाँच छ अंकमा झरेको छ ।

आज एक सय त्रिपन्न कम्पनीका ९ लाख सतहत्तर हजार ४७ कित्ता शेयर पाँच हजार दुई सय छपन्न पटक किनबेच हूँदा ३९ करोड बाउन्न लाख सत्र हजार चार सय पैतिस रुपैयाँको शेयर खरिदविक्री भए ।

आज कारोबारमा आएका दशवटा समुहमध्ये दुईवटाको मात्रै कारोबार सकारात्मक भएको छ ।

केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजारलाई अनुत्पादक क्षेत्रको रुपमा व्याख्या गरेपछि नेप्से परिसुचक ओरालो लाग्दै गएको छ ।

उनले बीबीसी नेपाली सेवामा दिएको अन्तर्वार्तामा स्पष्ट रुपमा हामीले परिचालन गरेको पुँजी फेरि सेयर बजार, घरजग्गा, अटो र उपभोक्तामा गयो भने त्यसको अर्थ रहँदैन भनेका थिए ।
यही अभिव्यक्तिका कारण लगानीकर्ता शेयरमा लगानी गर्न डराएकाले नेप्से परिसुचक घटेको भन्दै शेयर लगानीकर्ता संघले हिजो विज्ञप्ति नै निकालेर आपत्ति जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्