Logo

फाष्ट ट्रयाक समयमै सम्पन्न गर्ने सेनाको विश्वास



काठमाडौं, २१ फागुन ।  नेपाली सेनाद्वारा नवनियुक्त माननीय रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा आयोजित एक बिषेश कार्यक्रमकाबीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले नवनियुक्त रक्षामन्त्रीलाई नेपाली सेनाको तर्फबाट हार्दिक स्वागत गर्नु हुँदै माननीय मन्त्रीको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नु भयो ।

सोही अवसरमा उहाँले सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग आयोजना रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरुको सद्भाव सदाझै प्राप्त भएमा समय सिमाभित्र पुरा हुने बताउनु भएको थियो ।

सोही क्रममा उहाँले नेपाली सेना संयुक्त राष्ट्रसंघ अन्र्तगत अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट नेपालको परराष्ट्र नीतिलाई टेवा पुग्नुको साथै Most Reliable and Credible Troops Contributing Country को रुपमा स्थापित भएको समेत बताउनु भएको छ ।

कार्यक्रमको क्रममा नव नियुक्त रक्षामन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिकरण पश्चात उक्त विविध विषयहरुमा अन्तरक्रिया भएको थियो ।

उक्त परिचायात्मक कार्यक्रममा रक्षा सचिव विनोद के.सी.,नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्