Logo

दुई प्रधानमन्त्रीबीच लगानीदेखि मानव संसाधन विषयमा छलफल



काठमाडौँ, २१ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीचको भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास विषयमा छलफल भएको छ ।

दुई देशका प्रधानमन्त्रीहरु द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले आज राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकमा दुई देशका प्रधानमन्त्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को बडापत्रको भावनानुसार सार्क प्रक्रियालाई पुनःजीवन दिन आआफ्ना विचार आदानप्रदान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्