फागुन २४, काठमाण्डौ । एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।
पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेको अडियो क्लिप यतिबेला चर्चामा छ ।
छोटो अडियो क्लिपमा उनले भनेका छन, ’मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ । तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?’
उक्त क्लिपमा उनले नगद पुरस्कारसमेत नपाएको गुनासो गरेका छन् । एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए ।
यसबारे एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले भने आफूहरुले कन्ट्रयाक्टअनुसारको सबै पुरस्कार दिइसकेको बताएका छन् । पौडेलले कर नतिरेकोले यातायातले ब्लुबुक नदिएको बताएका छन् ।
उनले चेकमा समस्या भयो भनेपछि सम्झौताअनुसार पैसा नै दिइएकोसमेत बताए ।