Logo

विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै



काठमाडौँ, २६ फाल्गुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ।

जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १:१५ बजे अफगानिस्तानको सामना गर्नेछ। एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन्। अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ।

सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ। लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ। नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो।

टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ। अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ। नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ। प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन्।



प्रतिक्रिया दिनुहोस्