Logo

कालोबजारी गर्ने व्यापारीहरुलाई जेल हाल्न तानाबुना बुन्दै मन्त्री यादव



काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरि तयारी थालेका छन् ।

मन्त्री निकट उच्च स्रोतका अनुसार यादवले पछिल्लो समय मुलुकमा कालोबजारी बढेको खबरहरु छ्याप्छ्याप्ती भएपछि कालाबजारीलाई नियन्त्रण गर्नको लागि पनि त्यसमा संलग्न व्यापारीहरुलाई जेल हाल्ने समेत तयारी गरेको बुझिएको छ ।

यसको लागि उनले आजैमात्रै विभिन्न बजार अनुगमन समितिहरुको प्रतिनिधिमण्डलसँग परामर्श गर्ने भएका छन् ।

हुन त मन्त्री यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन सामूहिक सहकार्य हुनुपर्ने कुरा मन्त्रालयमा पदभार सम्हालेलगत्तै बोलेका थिए । सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याएका थिए ।

उनले त्यतिवेला भनेका थिए,‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्य गर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु।’



प्रतिक्रिया दिनुहोस्