Logo

संविधान कार्यान्वयनमा प्राथमिकता : सभामुख महरा



काठमाडौँ, २६ फागुन : नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सभामुख महराले भन्नुभयो, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”

उहाँले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताउनुभयो ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिनुभएको थियो ।

सभामुख महराको शपथ आइतबार 

यसैगरी नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महरालाई आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । सभामुख महरा आजको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित हुनुभएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्