Logo

महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



महेन्द्रनगर, धनुषा, २६ फागुन  : प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ ।

अन्तर पार्टी महिला सञ्जाल धनुषाले आज प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा त्यसमा महिलालाई उचित स्थान नदिइएकाले त्यसलाई सुधार गर्ने मागसहित सञ्जालकी अध्यक्ष मञ्जुकुमारी यादवले ज्ञापनपत्र बुझाउनुभएको छ ।

संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने प्रावधान रहेको छ ।
प्रदेश नं २ मा एकजना पनि महिलालाई मन्त्री नबनाउनु र राज्यमन्त्रीमा एक महिलालाई मात्र सहभागी गराएकोमा ज्ञापनपत्रमार्फत आपत्ति समेत जनाइएको छ । साथै यसलाई अविलम्ब सच्याउन माग समेत गरिएको छ ।

मुख्यमन्त्री राउतले अन्तरपार्टी सञ्जालको माग जायज र सान्दर्भिक रहेको र माग सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले महिलाको क्षेत्रमा नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको भन्दै संविधानमा महिलाको हक सुनिश्चितताअनुसार विस्तारै सबै क्षेत्रमा सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काँग्रेस, एमाले, माओवादी, राजपा, फोरम र राप्रपाका महिलाको संगठन रहेको अन्तरपार्टी महिला सञ्जालले महिलाको हक अधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्