Logo

कांग्रेसको नेतृत्व लिन दबाब आएको छ, अब अघि सर्छु : कोइराला



फागुन २७, काठमाण्डौ । नेपाली कांग्रेसले चुनावी समिक्षा लगायतका विषयमा केन्द्रित रहेर केन्द्रिय समितिको बैठक बस्ने भएको छ ।

नौ गतेका लागि केन्द्रिय समितिको बैठक बोलाइएको छ । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन वटै तहको चुनावमा कांग्रेसले प्राप्त गरेको नतिजाका विषयमा बैठकमा छलफल गरिने बताएका छन् ।

नेपाली रेडियो नेटर्वकको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले समिक्षा गर्दै कांग्रेसको आगामी बाटो तय गरिने बताए ।

देशको नयाँ संरचनाअनुसार पार्टीको संरचना बनाउनका लागि विधान संशोधनका विषयमा पनि छलफल गरिने उनले बताए ।

“संघीयताअनुसार पार्टीको संरचना विस्तार गर्नका लागि खाका तयार गरिरहेका छौँ । हरेक प्रान्त, जिल्ला, क्षेत्र लगायत सबै तहमा कांग्रेसको उपस्थितीका लागि गृहकार्यमा छौँ ।” उनले भने ।

नेतृत्व परिवर्तनको आवाज उठ्नु स्वभाविक भएको भन्दै उनले पहिला पार्टीको संरचना परिवर्तन गरिने बताए । यसका लागि दुई वर्ष लाग्न सक्ने भएकाले १४औँ महाधिवेशनबाट मात्रै नेतृत्व परिवर्तन हुन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

९ गतेदेखि बस्ने केन्द्रि समितिको बैठकको मूल एजेण्डा चुनावमा बेहोरेको हारको समिक्षा नै रहेको उनले स्पष्ट पारेका छन् ।

अहिले आरोप लगाइएजस्तो हारको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाको नभएको उनको भनाई छ । सभापति भएकाले देउवाको जिम्मेवारी धेरै हुने तर अरु सबै चोखिन नमिल्ने उनको तर्क छ ।

केन्द्रिसमिति लगत्तै महासमिति बैठक बसिने कोइरालाले बताए । महासमिति बैठकपछि अर्ली महाधिवेशनमा जान सकिने उनको भनाई छ ।

अब हुने महाधिवेशनमा आफु नेतृत्वका लागि अघि सर्ने बताउँदै कोइरालाले आफ्नो पक्षमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेको जिकिर गरे ।

आफूलाई सभापति बन्नका लागि दबाब आएको बताउँदै उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना रहेको स्पष्ट पारे ।

आफू कुनै पनि गुटको नेतृत्व नगरी समग्र कांग्रेसलाई एक बनाउनका लागि सभापतिमा अघि सर्ने कोइरालाले बताएका छन् ।

संसदीय दलको चुनावमा देउवालाई मतदान गरेको भन्ने आरोपको खण्डन गर्दै उनले उक्त आरोप गलत भएको बताए ।



प्रतिक्रिया दिनुहोस्