Logo

देश विकासमा हलचल ल्याउने योजनाहरु बन्दैछन् : प्रदिप ज्ञवाली



वाम गठबन्धनको सरकारले देशको आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताइरहेको छ । तर यसका लागि धेरै चुनौति देखिएको छ । कसरी गर्छ त अहिलेको सरकारले देश विकास । यिनै विषयवस्तुमा केन्द्रित रहेर सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीसँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

केपी ओली नेतृत्वको सरकारले जनताको चाहना पूरा गर्न सक्छ ?
अहिलेको सरकारबाट देश र जनताले ठूलो आशा गरेका छन् । समृद्धिको महाअभियानमा हामी प्रतिवद्ध छौँ । नेपाली कांग्रेसले पनि या अभियानमा सहयोग गर्नुपर्छ ।

प्रधानमन्त्रीले लामो समयसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न सक्नुभएन । यसले नकारात्मक सन्देश जाँदैन ?
सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेकाले केही ढिला भएको हो । राजपासँग पनि कुरा भइरहेको छ । फोरम त सरकारमा सहभागि हुने औपचारिक निर्णय नै गरेको छ । राजपासँग पनि सहमति गरौँ भन्ने हो । अब राष्ट्रपतिको निर्वाचनपछि मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।

राजपा र फोरमले भनेजसरी संविधान संशोधन गर्न सरकार तयार भएको हो ?
संविधानका कुन विषयमा संशोधन गर्ने भन्ने विषयको छलफलमा हामी प्रवेश गरेका छैनौँ । राजपा र फोरमले अघि सारेका संशोधनका विषयलाई तत्कालिन संसदले पनि अस्विकृत गरेको थियो । संविधान संशोधन हुनुपर्छ, तर हिजो जे विषयमा संशोधन गर्न खोजिएको थियो, त्यसमा अहिले पनि हामी सहमत हुन सक्दैनौँ । भाषा, सिमाङ्कन र नागरिकताको विषयमा गर्न खोजिएको संशोधन गलत थियो । निर्वाचनमा यि विषय जनमत संग्रहको शैलीमा प्रस्तुत भयो । जहाँ हामीले जितेका छौँ । उक्त संशोधन विधेयक त कानुन रुपमा पनि अयोग्य भइसक्यो । किनकी कानुनी रुपमा एउटा संसदले अस्विकृत गरेको विधेयक अर्को संसदमा लैजान पाइदैन ।

उसो भए राजपा र फोरमसँग सहमति कसरी हुन्छ त ?
उहाँहरुको गुनासाहरुका विषयमा छलफल गर्न सकिन्छ । देशका कुनै पनि भागका जनताको अधिकारमा संविधानमा कहीँ कतै रोक लागइएको छ भने त्यसमा छलफल गर्नुपर्छ । देशका सबै नागरिकको अधिकार समान बनाउनका लागि हामी प्रतिबद्ध छौँ ।

तपाई मन्त्री बन्ने सम्भावना कति छ ? जनताले तपाई जस्तो व्यक्ति मन्त्री बन्नुपर्छ भनेका छन् ।
हेरौँ, अब प्रधानमन्त्रीले के गर्नुहुन्छ । त्यो कुरा प्रधानमन्त्रीले पनि सुन्नुभएकै होला ।

कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । सरकारलाई कतिको चुनौति हुने देख्नुहुन्छ ?
नेपालको इतिहासमै कांग्रेस सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । अहिले कांग्रेसका नेताहरुले पनि आत्मसमिक्षा गरेकै होलान् । देश विकासको अभियानमा लाग्न लागेको सकारलाई कांग्रेसले पनि विश्वासको मत दिनु नै राम्रो हुन्छ । सधैँभरी सत्तापक्ष र प्रतिपक्ष भनेर काममा अवरोध गर्नु हुँदैन । सत्ताले ल्याएका हरेक कुरालाई विरोधै गर्नुपर्ने र प्रतिपक्षले दिएका राम्रा सुझाबलाई पनि सरकारले वेवास्ता गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।

अहिलेको सरकारको मुख्य एजेण्डा विकास र समृद्धि नै हो । यसको गृहकार्य कसरी भइरहेको छ ?
एमाले र माओवादीले चुनावमा अघि सारेको साझा घोषणापत्रअनुसार नै सरकारले काम गर्छ । आगामी पाँच वर्षभित्र, दश वर्षभित्र देशलाई कुन ठाउँमा पुर्याउने भन्ने उल्लेख गरिएको छ । त्यसैमाथि केन्द्रित रहेर उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा तत्काल गर्नुपर्ने कामको विवरण तयार गर्न कार्यदल बनेको थियो । कार्यदलले सुशासन र समृद्धिको योजना प्रस्तुत गरेको छ । अहिले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायत मन्त्रालयहरुले उक्त योजना अध्ययन गरिरहको छ । नयाँ सरकार आएपछि यस्ता काम भए भनेर जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ । प्रधानमन्त्रीले विकास निर्माणका काममा हस्तक्षेप गरेर छिटो छिटो काम सम्पन्न हुने वातावरण सृजना गर्नुहुनेछ । भइरहेका विकास निर्माण समयमै सम्पन्न हुनेछन् र केही आकर्षक योजनाहरु पनि छिटै सार्वजनिक हुनेछ । देशको आर्थिक विकासमा हलचल ल्याउने खालका योजनाहरु बन्दैछन् ।

योजनाले मात्रै नेपालमा काम हुँदैन । कुशासन र भ्रष्टाचारको अन्त्य कसरी हुन्छ ?
भ्रष्टाचार अन्त्य गर्छु भनेर प्रधानमन्त्री केपी ओलीको सबैभन्दा ठूलो अठोट गर्नुभएको छ । सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नका लागि सरकार निर्मम रुपमा प्रस्तुत हुन्छ । तल धमिलिएको पानी सफा गर्न मुहान नै सफा गर्नुपर्छ । यही अभियानमा अहिलेको सरकार लागिपरेको छ । जनताको विश्वास प्राप्त गरेर ओली प्रधानमन्त्री बन्नुभएको छ । अहिले उहाँ प्रभावशाली अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री कार्यालयको पुनः संरचना पनि हुँदैछ । केही महत्वपूर्ण निकाय प्रधानमन्त्री मातहत राखिदैछ । त्यसैले अब सबै नकारात्मक पक्षको अन्त्य हुन्छ ।

भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीको प्रयासले मात्रै सफल हुन सकिएला र ?
यसका लागि पहिलो कुरा सरकार संचालन गर्ने राजनीतिक दलहरु प्रतिबद्ध हुनुपर्छ । दोस्रो समस्या कर्मचारी तन्त्रमा छ । त्यहाँबाट सरकारले सरसफाई सुरु गर्नुपर्छ । तेस्रो भनेको न्यायालय हो । न्यायालयको कुनै पनि निर्णयले भ्रष्टाचारलाई प्रश्रय दिनु हुँदैन । दण्डहिनता बढाउने काम न्यायालयले गर्नुहुँदैन । त्यसैगरी जनचेतनाको पनि आवश्यकता पर्छ । नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुन्छ । यि सबै पक्षको नेतृत्व सरकारले गर्छ । त्यसपछि सकारात्मक प्रभाव समाजमा पर्दै जान्छ ।

बोक्सीको आरोपमा महिलामाथि गरिने दुव्र्यवहार बढ्दै गएको छ । यस्ता सामाजिक कुरीतिको अन्त्यका लागि सरकारले के गर्छ ?
बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेदेखि स–साना बालबालिका बलात्कार भएका कहालिलाग्दा घटना घटिरहेका छन् । सुन्नै नसकिने अत्यन्त दर्दनाक घटनाहरु समाजमा घटिरहेका छन् । अपराध एकदमै बढेको अनुभूति भइरहेको छ । यसका विरुद्ध सरकार निर्ममतापूर्वक रुपमा प्रस्तुत हुनुपर्छ । कानुनहरु बनेका छन् । अब कार्यान्वयन गर्नुपर्छ । स्थानीय तहका जनप्रतिनिधीहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । कूरीतिविरुद्ध स्थानीय निकाय पनि कडा रुपमा प्रस्तुत हुनु जरुरी छ । पछिल्लो सयम कैलालीमा जुन घटना घट्यो, त्यस्ता घटनाका अपराधीलाई कडा कारबाही गर्नुपर्छ । उक्त गम्भीर अपराधको घटनामा सहभागिलाई कडा कारबाहीका पक्षमा लाग्नुपर्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफै रमिते बनेको भन्ने समाचार आएको छ । यो समाचार सत्य हो भने राम्रो होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot