Logo

महराले लिए सभामुख पदको शपथग्रहण, मन्त्री बन्दा नलाएको दौरा सुरुवाल सभामुख बनेपछि लगाए



फागुन २७, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।

सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।

यसअघि पटकपटक मन्त्री र उप प्रधानमन्त्री हुँदा समेत उनले दौरा(सुरवाल लगाएका थिएनन् ।

सभामुख भइसकेपछि भने उनले दौरा सुरुवाल लगाएका हुन् ।

समारोहमा उप राष्ट्रपति, प्रधान मन्त्री, प्रधान न्यायाधीश, मन्त्रीहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ । माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।

संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्