चितवन, २७ फागुन : भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ ।
सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । पञ्चवर्षीय योजना अन्तर्गत काम गर्नका लागि निर्धारण गरिएको बजेट निकासा नहुँदा समस्या भएको हो ।
कार्यालयका प्रमुख खेमबहादुर पाठककाअनुसार आव २०७१÷७२ मा रु ८४ करोड ८५ लाखको योजना स्वीकृत भएको थियो । सो पश्चात् समयमा बजेट निकासा नहुँदा पुनः रु एक अर्ब ४७ करोडको लागत इस्टिमेट गरी विभागमा पठाइएको छ ।
आव २०७२÷७३ मा रु चार करोड, आव २०७३÷७४ मा रु आठ करोड तथा आव २०७४÷७५ मा रु ६ करोड ५० लाख मात्रै बजेट प्राप्त भएको पाठकले बताउनुभयो । निर्धारित समयमा काम सक्नका लागि कम्तीमा एक आर्थिक वर्षमा रु २० करोड हाराहारी बजेट निकासा हुनुपर्नेमा त्यसो हुननसक्दा मूल्यवृद्धिका कारण आयोजनाको लागत निकै बढेको उहाँले बताउनुभयो ।
लागत बढेसँगै समयमै काम सम्पन्न गर्न एक आर्थिक वर्षमा कम्तीमा रु ३५ करोड आवश्यकपर्ने देखिएको पाठकले बताउनुभयो । लागत इस्टिमेट गरिएको बजेटमध्ये रु ६० करोड चारवटा पम्प खरिदका लागि मात्रै खर्च गर्ने योजना रहेको छ । पम्प स्थापना हुँदा २०४० सालमा जडान गरिएका चारवटै पम्प जीर्ण अवस्थामा छन् । हाल रहेका दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने रहेको छ ।
नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सबै पम्प घिटिघिटी अवस्थामा सञ्चालनमा रहेकाले परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभयो । मर्मतका लागि मात्रै वार्षिक रु ७० लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ । नारायणी लिफ्ट र खगेरी सिँचाइका मुख्य नहर पक्की बनाउन बजेट प्रस्ताव गरिएको हो ।
हालसम्म ४ दशमलव ५ किलोमिटर नहर पक्की बनाउने काम मात्रै भएको छ । रानाभाटकाअनुसार नहरमा स्याल, गोहोरा जस्ता जनावरले प्वाल पार्ने, त्यही प्वालमा पानी पसेपछि ठूलो प्वाल परेर नहर भत्किएर जनधनको क्षति बनाउनसक्ने, मानिसले अतिक्रमण गर्नेलगायत समस्याका कारण नहर पक्की बनाउनुपर्ने अवस्था छ ।
कार्यालयका सूचना अधिकारी भरतबहादुर थापाकाअनुसार नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । पछिल्लो समय नहर अतिक्रमणका कारण तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदैआएको छ । वृहत् योजना अन्तर्गत काम हुन लागेको खगेरी नहरले तीन हजार ९०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणी लिफ्टले ३७ हजार ४४ घरधुरी तथा खगेरी सिँचाइबाट १६ हजार घरधुरी लाभान्वित छन् ।
नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १० किलोमिटर लामो छ । सी वान एल नहरको १५ किलोमिटर क्षेत्र पूरै अतिक्रमणमा परेर बन्द छ । अतिक्रमण भएका क्षेत्रमा सिँचाइ गर्न २५ वटा डिप बोरिङ प्रस्ताव गरिएको छ । खगेरीको मूल नहर २५ किलोमिटर लामो छ । (रासस)