Logo

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, प्रतिपक्षलाई अन्त भोट गर्ने ठाउँ छैन



फागुन २७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग विश्वासको भोट मागेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि आफूलाई भोट दिन आग्रह गर्दै उनले भने, “भोट गर्नुपर्ने सबै कारण छ । नगर्नुपर्ने कुनै कारण छैन । अन्त भोट गर्ने ठाउँ छैन ।”

प्रतिपक्षमा बसेर पनि सरकारालई विश्वासको मत दिने चलन सुरुभएको भन्दै उनले कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरे ।
“प्रदेश नम्बर दुईमा हामीले प्रतिपक्ष भएर पनि समर्थन गर्यौँ ।” उनले भने ।

संसदमा विश्वासको भोट माग्नका लागि सम्बोधन गर्दै ओलीले सबै दलले सरकारलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

भ्रष्टाचारको अन्त्य गर्ने दाबी गर्दै ओलीले सुशाषनका लागि आफू प्रतिवद्ध रहेको बताए । “म भ्रष्टाचार सहन्न, आफू पनि गर्दिन । सुशासन दिने सरकार हो । यो सरकार सार्वभौमसत्ता, लोकतन्त्र र एकताको पहरेदार बन्छ ।” उनले भने ।

आफू कसैलाई दमन गर्नका लागि प्रधानमन्त्री बनेको नभै विकासको नेतृत्व गर्नका लागि सरकारको नेतृत्व गरेको बताए । “म दमनकारी शाषक होइन । विकासको अग्रणी, भ्रष्टाचारको विरोधी, सदाचारको प्रेरक हुँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सरकार हुँ भन्ने दम्भ गर्ने अधिकार नभएको बताएका छन् ।

विश्वासको मत लिनुअघि संसदमा सम्बोधन गर्दै उनले देश बनाउने अभियानबाहेक अरु कुनै एजेण्डा सरकारसँग नरहेको बताए ।

“सरकारमा दम्भ हुनुहुँदैन । प्रतिपक्षमा सहयोगि भावना हुनुपर्छ ।” ओलीले भने ।
आर्थिक विकासका लागि महत्वपूर्ण मानिने सबै क्षेत्रको सुधार गरिने छ । उनले भने ।

वाम गठबन्धनको एजेण्डालाई स्विकार गरेर जनताले मत दिएको भन्दै उनले दुई तिहाई बहुमतको सरकारले जनताको सपना साकार पार्ने दाबी गरे ।
विश्वासको मत माग्दै ओलीले आफू देश विकासका लागि प्रधानमन्त्री भएको बताए ।

“म प्रधानमन्त्री बन्नका लागि मात्रै प्रधानमन्त्री बनेको होइन । देश विकासका लागि प्रधानमन्त्री भएको हुँ ।” ओलीले भने ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला एउटी चेलीलाई बोक्सीको आरोपमा यातना दिनु दुखद भएको ओलीको भनाई छ ।

“निर्दोष कलेज पढ्ने, सुन्दर सपनाहरु देखिरहेकी बालिकामाथि यस्तो अत्याचार भइरहँदा समाज हेरेर बस्छ । पाँच वर्षकी बालिका बलात्कार हुन्छे । हामी त्यस्तो ठाउँमा छौँ ।” ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्