Logo

भाषण होइन, एक्सनमा अघि बढ्न सरकारलाई प्रचण्डको सुझाव



काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले सबैखाले बेथितिको अन्त्य गर्न दृढ भएर अघि बढ्न आव्हान गर्नु भएको छ ।

व्यवस्थापिका संसदमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले नेपाली जनताले बेथिति, विसंगति, विकृतिका विरुद्ध सुसाशन र समृद्धिको पक्षमा मत दिएको बताउनुहुँदै सरकारबाट जनताले भाषण होइन एक्सन खोजेको प्रष्ट पार्नुभयो । “अब यो भयो, त्यो भयो भनेर लच्छेदार भाषण गर्ने समय होइन, जनताले सिधै परिणाम खोजेका छन् । एक्सनमा जानुस् ।”

प्रतिनिधिसभा र सरकारका अगाडि ऐतिहासिक चुनौती र अवसर रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले अराजकता, बेथिति र विकृति होइन, विकासको नयाँ युग सुरु हुनुपर्छ भनेर जनताले भरोसा गरेर मत दिएको बताउनु भयो ।

“शान्ति सम्झौताका केही काम बाँकी छन्, तर हामी संविधानसभाबाट संविधान निर्माण र त्यसको कार्यान्वयनको चरण पार गरेर यहाँ आइपुगेका छौं । बेथिति, कुशासनविरुद्ध जनताले हामीबाट विकास र समृद्धि खोजेका छन् । त्यसैले सोझै परिणाम दिने गरी अघि बढ्नुस् ।”

प्रचण्डले भन्नुभयो, “झण्डै दुई तिहाई जनताको साथ सरकारलाई छ । यो भन्दा बढी अधिकारसम्पन्न सरकार हुन सक्दैन । तसर्थ, राज्यका सबै अंगमा हुने ढिलासुस्ती, सबैखालका कुसंस्कृतिको अन्त्य गर्न दृढ कदम चाल्नुस ।”

अध्यक्ष प्रचण्डले कैलालीमा बोक्सीको आरोपमा एकजना किशोरीमाथि भएको जघन्य घटना र ८ वर्षीय किशोरी बलात्कृत भएको घटना उल्लेख गर्दै दोषीमाथि तत्काल एक्सनमा उत्रिनुपर्ने समेत बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “बोक्सीको आरोपमा दिनदाहाडै कुटपीट गर्ने र रमिता हेर्नेमाथि कारवाही गरियोस्, ८ वर्षीय बालिका बलात्कार गर्नेमाथि कठोर कदम चालोस्, सबै बेथितिविरुद्ध के के गर्नुपर्छ तत्काल एक्सन चालियोस्”

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्