Logo

प्रधानमन्त्री ओलीलाई दुई तिहाई विश्वासको मत दिनु औपचारिकता मात्रै, अनर्थ नमाने हुन्छ : केसी



फागुन २८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीलाई अधिकांश दलले विश्वासको मत दिनु औपचारिकता मात्रै भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता केसीले प्रधानमन्त्रीलाई दुईतिहाई बहुमत प्राप्त हुने कुरालाई आफूहरुले अनर्थ नमानेको बताए ।

अहिले विश्वासको मत दुईतिहाईभन्द बढि प्राप्त भए पनि आगामी दिनमा सरकारले गर्ने कामका आधारमा त्यो घटबढ हुन सक्ने केसीले बताए ।

सरकारलाई कांग्रेसले प्रतिपक्षी दलको रुपमा रचनात्मक सहयोग गर्ने केसीले बताए । प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिवद्धतालाई पूरा गर्न दबाब दिने बताउँदै उनले लोकतन्त्र र विधिका शाषन विरुद्ध सरकार जान खोजे खबरदारी गर्ने बताए ।

सरकारले कुनै आग्रह र पूर्वाग्रहविना भ्रष्टाचारीलाई कारबाही गरेमा कांग्रेसले पूर्ण समर्थन गर्ने उनको भनाई छ । कांग्रेसकै कोही नेता भ्रष्टाचारी ठहर हुन्छ भने पनि कारबाही गर्नुपर्ने उनको भनाई छ ।

तर दलगत हिसाबले आग्रह–पूर्वाग्रह राखेर कर्सलाई दुःख दिने काम नगर्न केसीले चेतावनी दिए ।

सुधारको अभियानलाई सहयोग गर्ने बताउँदै केसीले सुधारका नाममा अधिकार हातमा लिएर प्रधानमन्त्री ओलीले जथाभावी गर्न खोजे आफूहरु चुप लागेर नबस्ने बताए ।

अहिले नै हतारिएर कांग्रेसले सरकारप्रति कुनै धारणा बनाइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

कांग्रेसको नेतृत्व परिवर्तनको विषयमा वा चुनावमा हारेको बारे समिक्षका विषयमा आगामी केन्द्रिय समिति बैठकमा छलफल गरिने केसीले बताए ।

केन्द्रिय समितिको बैठकपछि महासमिती बैठक बसिने र उक्त बैठकले शिघ्र महाधिवेशन वा विशेष महाधिवेशन के गर्ने भन्ने निर्णय गरिने केसीको भनाई छ ।

कांग्रेसभित्र गुटगत राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिदै केसीले आफू कुनै पनि नेताको गुटमा नरहेको दाबी गरे ।

समय परिस्थितीअनुसार राम्रो काम गर्ने नेतालाई सहयोग गर्दै आएको बताएका केसीले पछिल्लो समय सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेको जानकारी दिए ।

पार्टी नेतृत्वबाट नभै गिरोहबाट संचालन भएको उनको आरोप छ । नयाँ उर्जाका साथ कांग्रेस अगाडि बढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्