Logo

हामी अहिले सरकारमा जाँदैनौं : यादव



काठमाडौं, २८ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरुको मुख्य मुद्दा भनेको नै संविधान संशोधन भएकोले सो नभएसम्म सरकारमा सहभागी नहुने जिकिर गरे । उनले भने,‘हामीलाई यो सरकारसँग विश्वास र भरोसा छ, त्यही भएर हामीले विश्वासको पक्षमा मत दिएका हौं।’

त्यस्तै २ नम्बर प्रदेशको सरकार गठनमा एमाले र माओवादीले आफूहरुलाई समर्थन गरेकोले र आफूहरुको मुद्दा दुई तिहाईबाट संविधान संशोधन गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मत दिएको यादवले जिकिर गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले संविधान संशोधनको लागि सरकारले अविलम्ब वातावरण बनाउनुपर्ने बताए । उनले भने,‘पहिला हाम्रा समस्याहरु समाधान गर्नुपर्छ, हामी अहिले सरकारमा जान तयार छैनौं।’

विगतका तितामिठा कुराहरु छोडेर अब संविधान संशोधन गर्दै मुलुकमा यो संविधान हामी सबैको हो भन्ने वातावरण बनाउने बेला आएको उनको तर्क थियो । उनले थपे,‘यो वातावरण बनाउनको लागि सरकारको कोर्टमा बल छ।’

त्यस्तै उनले कैलालीमा भएको बोक्सीको आरोपमा कुटपिटको घट्नामा दोषीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए । उनले भने,‘दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ, यसको लागि हामीले सरकारको ध्यानाकार्षण गराएका छौं।’



प्रतिक्रिया दिनुहोस्