Logo

अनुशासित भएर काम गर्न सभामुखको निर्देशन



काठमाडौँ, २८ फागुन : संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो ।

सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय भएर काम गर्नुहोस् ।”

सचिवालयका कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई यथावत राख्न आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “म अर्थमन्त्री भएको बेला तपाईंहरुलाई ८० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पारित गरेको थिएँ, अहिले त्यसमा केही गडबड भएको छ भन्ने सुनेको छु, त्यसलाई कार्यान्वयन गर्नेछु ।”

सभामुख महराले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै सचिवालयको सफलताका लागि भने सबैको एउटै आस्था हुनुपर्ने बताउनुभयो ।

राम्रो काम गर्नेहरुका लागि आफू सजिलो मान्छे र नराम्रो काम गर्नेका लागि अप्ठ्यारो मान्छे भएको बताउँदै उहाँले संसद्को आफ्नै भवन नुहँदा भाडामा बस्नुपरेको हुँदा नयाँ भवन बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्