Logo

वैकल्पिक विमानस्थल निर्माणमा हामीले कमजोरी गर्यौँ : पूर्व पर्यटनमन्त्री



वैकल्पिक सोच र योजनाको जरुरी छ : आनन्द पोखरेल
सरकारले विमान दुर्घटनामा घाइते भएकाहरुको उपचार र निधन भएकालाई क्षतिपूर्तिको व्यवस्था गरोस भन्ने माग गर्न चाहन्छु । नेपालमा भएको अन्तर्राष्टिय विमान दुर्घटनामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना चौथो हो ।

यो दुर्घटनाले त्रास थपेको छ । दुर्घटनाबारे तत्काल आएको विषयहरु पाइलट र कन्ट्रोल रुमबिचको संवादका बारेमा धारणा बनाउनु सतही हुनेछ । किनकी यसले मात्रै दुर्घटनाको खास कारण थाहा पाउन सकिदैन ।

यद्यपी यो संवादलाई हेर्दाखेरी कन्ट्रोल रुमको आदेशविपरित ल्याण्ड गर्न खोज्दा दुर्घटना भएको आशंका गरिएको छ । त्यसैगरी हावाको गति तीब्र हुँदा समस्या भएको आशंका गरिएको छ । पाइलट जीवित नभएकाले अब ब्ल्याक बक्सको अध्ययनपछि मात्रै केही कुरा थाहा हुन्छ ।

नेपालमा यस्ता दुर्घटना भइरहँदा अब वैकल्पिक सोच र योजनाको जरुरी छ । अर्को पनि अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्छ । काम सुरु भएको छ, तर ढिलासुस्ती भइरहेको छ ।

विमानस्थल साँघुरो भएकाले वैकल्पिम विमानस्थलको खाँचो छ । भएन भने यस्ता दुर्घटना दोहोरिन सक्छ ।

अब कुरा होइन, काम गर्नुपर्छ : दिपकुमार उपाध्याय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटनाबारे जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको छ । आयोगले प्रतिवेदन सार्वजनिक गरेपछि धेरै कुरा थाहा हुन्छ ।

जहाज भनेको गाडी चलाएको जस्तो होइन । सबै कम्प्युटर सिष्टममा हुन्छ । धेरै कुरा अध्ययन गरेपछि मात्रै सत्यतथ्य पत्ता लाग्न सक्छ ।
संचारमाध्यमबाट प्राप्त सुचनाका आधारमा घटनाको कारण यही हो भन्न मिल्दैन । यद्यपी कन्ट्रोल रुम र पाइलटबिचको संवादका आधारमा भन्ने हो भने प्राविधिक समस्या नरहेको बुझिएको छ ।

नेपालको हवाईमैदान साँघुरो छ । राष्ट्रिय सोच पुग्न नसकेका कारण स्तरीय विमानस्थल बनाउन सकेका छैनौँ । देशका विभिन्न स्थानमा बनिरहेका अरु विमानस्थलको काम पनि समयमा हुन सकेको छैन ।

निर्धारित समयमा तोकिएको बजेटमा काम हुन सकेको छैन । यि हाम्रा कमजोरी हुन् । त्यसैले यि कुरालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

एउटा मात्रै दुर्घटनाले पनि अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जान्छ । त्यसैले अब कुरा होइन, काम गर्नुपर्छ ।

म २० वर्षअघि पर्यटन मन्त्री बनेको थिएँ । त्यसबेला स्रोत साधनको कमी थियो । त्यसैले ठोस काम गर्न सकिएन ।

हिजोको दुर्घटनामा भएको उद्दारकार्यबाट म सन्तुष्ट छु । उद्दारका कारण केही यात्रुलाई बचाउन सकिएको छ ।

(ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीमा आधारित)

फागुन २९, काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्