Logo

पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त



पर्सा, २९ फागुन : यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले समवेदना व्यक्त गर्नुभएको छ ।

वीरगञ्जमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति गहिरो दुःख प्रकट गर्नुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले ठूलो नभई असल व्यक्ति बन्न कार्यक्रममा उपस्थित रहेका विद्यार्थीलाई सल्लाह दिनुभयो । उहाँले असल व्यक्तिलाई समाज र राष्ट्रले खोजेर स्थान दिने भएकाले ठूलो हुने अभिलाषाभन्दा असल बन्ने सोचको विकास गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा उहाँले शिक्षित समाजले नै लोकतन्त्र बलियो र राष्ट्र समृद्ध बन्ने धारणा व्यक्त गर्दै मुलुकमा व्याप्त रहेको अशिक्षालाई समाप्त पर्न सबै एकजुट भई लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान् यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह, प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, नेपाली काँग्रेस पर्साका जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्वसभासद् रामेश्वर रौनियार लगायतले विद्यार्थीले शिक्षा हासिल गरेपछि त्यसको सदुपयोग मुलुकभित्रै गर्नुपर्ने विचार व्यक्त गरेका थिए । (रासस) 



प्रतिक्रिया दिनुहोस्