Logo

महिला हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौँ, २९ फागुन : अन्तरपार्टी महिला सञ्जालले पछिल्लो समय महिलामाथिको हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ ।

सञ्जालको टोलीले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै पर्सामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना, कैलालीमा युवतीलाई बोक्सीको आरोपमा गरिएको दुव्र्यवहार, धनुषामा बाबुबाट छोरीको हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई कडा कदम चाल्न आग्रह गरिएको छ ।
सञ्जालले बलात्कारको घटनामा विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने मागसमेत गरिएको छ ।

ज्ञापनपत्र लिँदै गृहमन्त्री थापाले महिलामाथिको हिंसाबारे मन्त्रालय गम्भीर रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पार्नुभयो ।

उहाँले दोषीलाई कारबाहीका लागि मन्त्रालयले निर्देशन दिइसकेको तथा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

उहाँले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गर्नुभयो । सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरको नेतृत्वमा आएको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्