Logo

हस्ताक्षर अभियान चलाएर भए पनि महासमितिको बैठक बोलाउँछौँ : डा. शेखर कोइराला



वीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र डा. शेखर कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । गएको महाधिवेशनमा उनी सबैभन्दा रुचाइएका नेता प्रमाणित भएका थिए । राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठूला राजनीतिक परिवर्तनहरुमा डा. शेखरको भूमिका कम छैन । अहिले कांग्रेस चुनामा लज्जास्पद पराजय भएर शिथिल भएको छ । नेतृत्वको कमजोरीका कारण कांग्रेसले पराजय बेहोरेको भन्दै कोइरालाले अब नयाँ तरिकाले कांग्रेसलाई अगाडि लैजानुपर्नेमा जोड दिदै आएका छन् । उनै कोइरालासँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय देशको अवस्था कस्तो पाउनुभएको छ ।
देशमा अराजकता बढेको छ ।

प्रधानमन्त्री केपी ओलीले अब सबै समस्या समाधान गर्छु भन्नुभएको छ नि ?
अहिलेको सरकारले तीन चौथाई मत पाएको छ । उक्त मतको कदर गर्नुपर्छ । देश विकास गर्छु भन्नुभएको छ । गर्नुहोला । तर संविधान संशोधन गरेर भत्काउने प्रयासतिर नलागेर अगाडि बढ्न सल्लाह दिन्छु ।

सबै काम मिलेर गरौँ भनेर एमालेका कतिपय नेताहरुले त कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका छन् नि ?
हामी सरकारमा जाँदैनौँ । विपक्षीको भूमिका खेल्छौँ । उहाँहरुले राम्रो काम गर्नुभयो भने सराहना गर्छौँ । गलत गर्नुभयो भने खबरदारी गर्छौँ । लालबाबु पण्डितले सरकारमा आउनुस् भनेको मैले पनि सुनेँ । तर हामी जाँदैनौँ ।

कांग्रेसको भूमिका त कमजोर भयो नि । अब कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ ?
हो, इतिहासमै कांग्रेस अत्यन्त कमजोर भएको छ । यसमा शंका छैन । तर अब समस्या र कमजोरीबाट बाहिर निस्कनुपर्छ ।

अहिलेको नेतृत्वबाट कमजोरी हटाउन सक्नुहुन्छ ?
हो यही कुरा मैले बारबार भनेको छु । नेताहरुलाई प्रश्न गरेको छु । कुनै पनि सरकारमा हाम्रो उपस्थिती छैन । कार्यकर्ताहरु निराश छन् । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवा, जिल्ला, गाउँ र टोलटोलमा जानुपर्छ ।

संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्नुपर्ला । देउवा नै दलको नेतामा निर्वाचित हुनुभएको छ ।
हो, संसदीय दलको नेता र सभापति, दुवै पदको औचित्य पुष्टी गर्न देउवाले सक्नुहुन्न भन्ने हाम्रो भनाई हो । त्यसकारण हामीलाई अप्ठ्यारो परेको हो ।

एक व्यक्ति दुई पद हुनुहुँदैन भन्न खोज्नुभएको हो ?
त्यो भन्न खोजेको होइन । अहिलेका अवस्थामा चौथौँ महाधिवेशनसम्म एक व्यक्ति एक पद हुनुपथ्र्यो । तर देउवाले मान्नुभएन ।

राष्ट्रपतिको चुनावमा पनि काग्रेसको उम्मेदवारले फराकिलो अन्तरले हार्नुपर्यो । काग्रेसबाहेक अरुको भोट नै आएन । किन ?
यो पनि नेतृत्वको कमजोरी हो । चुनावका बेला गरिएको लोकतान्त्रिक गठबन्धन अहिले कहाँ गयो ?

के कारणले कांग्रेसको नेतृत्व कमजोर भयो ?
नेतृत्वमा भिजन नभएर कमजोर भएको हो ।

भिजन नभएको नेतालाई किन नेतृत्वमा राखिरहनुहुन्छ त ?
त्यो त बैधानिक हिसाबले जाने हो । त्यसै हटाएर हुँदैन । अर्को कुरा नेतृत्वमा नैतिकता पनि हुनुपर्छ । अहिलेसम्म नेतृत्वले कांग्रेसले चुनाव हार्यो भनेर स्विकार गर्नसम्म सकेको छैन । व्यक्ति हारेको हो, पार्टी हारेको होइन भन्दै हिँड्नुभएको छ । योभन्दा लज्जास्पद के हुन्छ ?

अक केन्द्रिय समिति बैठक बस्दैछ । तपाईको तयारी के छ ?
केन्द्रिय समितिको बैठकपछि महासमितिको बैठक बोलाउनुपर्छ । तुरुन्तै बोलाउनुपर्छ । केन्द्रिय समिति बैठकले नै महासमितिको बैठक बोलाउने निर्णय गर्नुपर्छ ।

केन्द्रिय समितिको बैठकले निर्णय गरेन भने के गर्नुहुन्छ ?
केन्द्रिय समितिले निर्णय गरेन भने हामी हस्ताक्षर अभियान चलाएर भए पनि महासमितिको बैठक बोलाउँछौँ । उहाँहरुले महासमितिको बैठक बोलाएर टालटुल पार्ने नीति लिन खोजेको देखिन्छ । पदाधिकारी बढाउने, उपसभापति, महामन्त्री बनाइदिएर लोभी नेताहरुलाई ललिपप दिन खोजेको आशंका छ । यसरी टालटुले नीतिले अब कांग्रेस अगाडि बढ्न सक्दैन ।

युवा नेताहरु नै ललिपपमा भुल्न थालिसके नि ?
हत्तेरिका ऋषि जि, मैले त त्यसरी ललिपप खान जानुभएन भनेको छु । तर कोही जान्छ भने जान दिनुस्, जति छन् तिनलाई अगाडि लिएर हिँड्ने हो भने पनि आगामी महाधिवेशनमा हामी अगाडि पुग्छौँ ।

१४ औँ महाधिवेशनमा तपाईहरु शेरबहादुर देउवालाई पराजित गर्न सक्नुहुन्छ ?
पराजितको कुरा होइन, पराजित त उहाँ त्यसै भइसक्नुभयो । पराजित मानसिकतामा नै हिँडिरहनुभएको छ अहिले । पराजित मानसिकताबाट लड्ने व्यक्ति महाधिवेशनमा कसरी जित्छ ?

सभापति देउवा त अझै बलियो बन्दहुुनुहुन्छ । ससंदीय दलको नेतामा दुई तिहाई मत ल्याएर जित्नुभयो । कसरी हराउनुहुन्छ ?
तपाईहरुलाई त्यस्तो लागेको मात्रै हो । समानुपातिकमा आफ्नै मान्छे छानेर सासंद बनाएपछि संसदीय दलको नेतामा भोट त हाल्ने नै भए नि ।

पछिल्लो समय न्यायालय विवादमा परेको छ । न्यायाधिशहरुले इजलास नै बहिष्कार गरे । यसलाई कसरी लिनुहुन्छ?
देशमा चारैतिर अराजकता छ । प्रधानन्यायाधिश गोपाल पराजुली मात्रै होइन, अरु पनि धेरै अराजक बन्दैछन् । पराजुलीको गल्ती छ । यसमा शंका भएन । उहाँले प्रेसमाथि पनि धावा बोल्नुयो । तर अन्य न्यायाधिशहरुले बेन्च बहिष्कार गर्दा न्यायापालिका झन अराजक बन्यो । ति न्यायाधिशहरु सबै खल्तीबाट झिकेर लगिएकाले यस्तो भएको हो । सबै निकाय आफूमातहत लगेर प्रधानमन्त्री शक्तिशाली बन्नुभएको छ । म आजै भन्दिन्छु, प्रधानमन्त्री कार्यालय अराजकतातिर जान्छ ।



प्रतिक्रिया दिनुहोस्