‘संघीय व्यवस्थालाई असफल बनाउने काम कर्मचारीबाट सुरु भएको छ’
काठमाडौं, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो केशमा आँफैले अदालतमा गतिविधि सञ्चालन गर्नु गलत भएकोले महाभियोग लगाउनेबारे आफूहरु छलफलमा रहेकोले छिट्टै निर्णयमा पुग्ने स्पष्ट पारेका छन् ।
शाहीले भने,‘उहाँको गतिविधि ठीक छैन, यो राम्रो होईन, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने वा नलगाउनेबारे अहिले छलफल जारी छ, हामी छिट्टै निर्णयमा पुग्छौं, तर अहिले उहाँको विरुद्ध महाभियोग आईहाल्छ, ल्याईहालिन्छ भन्ने छैन ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अदालत निश्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले त नेपालमा संवैधानिक अंगहरु निश्पक्ष हुन सकेका छैनन्, कहीँ न कहीँ राजनीतिक गन्ध छ, यसको अब अन्त्य गर्न जरुरी छ।’ उनले भ्रष्टाचारको विरुद्धमा लड्ने आफूहरुको अठोट रहेको पनि सुनाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाली समाजको स्कुलिङ् नै सामन्तवाद भएकोले अहिलेपनि नेपालमा मुख्य व्यक्ति वा कुनै निकायको प्रमुख बनेपछि सामन्तवाद देखाईहाल्ने गरेको सुनाए । शाहीले संवैधानिक निकायका प्रमुखहरुदेखि सबै आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने धारणा राखे । उनले भने,‘आफ्नो क्षेत्राधिकार नाघ्ने जो कोहीलाई पनि छुट दिनुहुँदैन्, गलत गर्नेविरुद्ध महाभियोग पनि लगाउनुपर्छ।’
मुख्यमन्त्री शाहीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अहिले नै महाभियोग आईहाल्ने वा ल्याईन्छ भन्ने चाहीँ नरहेको स्पष्ट पारे । उनले भने,‘उहाँका कमजोरीहरुका बारेमा अहिले अध्ययन भैरहेको छ, महाभियोग ल्याउँदा कमजोरी किटानी नै गरेर ल्याईन्छ।’
२१५ कर्मचारी दरबन्दी रहेको कर्णाली प्रदेशमा अहिलेसम्म ११० जनामात्रै कर्मचारी पुगेको मुख्यमन्त्री शाहीले जनाए । ‘कर्मचारी प्रदेशमा जानै चाहँदैनन्, अरु त परै जाओस्, सचिव पनि पुगेका छैनन्, विकास निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार मन्त्रालयमा त सुव्बा पुगेका थिए, उनी पनि अहिले काठमाडौं नै फर्किएका छन्, तर हामीले काम रोकेका छैनौं, आउनुपर्ने अरु कर्मचारी कता छन्, थाहा छैन ?’
मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएकोले कतिपय कामहरु गर्नको लागि निर्देशन दिने अधिकार नभएको गुनासो पोखे । उनले भने,‘प्रदेशलाई भन्दा बरु बढि अधिकार त स्थानीय तहलाई छ, प्रदेश सरकार त क्षेत्रिय कार्यालयको भूमिकामा सिमित छ, हामीलाई निर्देशन दिने अधिकार छैन।’
उनले कामै गराउन नपाएपछि कसरी प्रदेश बन्छ भन्दै प्रश्न समेत तेर्साए । शाहीले भने,‘यसको लागि बरु संविधान संशोधन गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न गराउनुपर्छ, कर्मचारीहरु प्रदेशमा जान मान्दैनन्, उहाँहरुलाई घटुवा भएको र अपमानित भएको महशुस गर्नुभएको छ, प्रदेश सांसदपनि निरुत्साहित हुनुभएको छ, प्रदेशको मुख्यमन्त्रीको तल बसेर सचिवहरु काम गर्न मानिरहेका छैनन् ।’
अहिलेपनि संघीय व्यवस्था नचाहनेहरुको नेपालमा बाहुल्यता रहेको बताउँदै शाहीले भने,‘हिजो संविधान जारी गर्नुपुर्व पनि संघीयता नचाहानेहरु बढि थिए, आजपनि उनीहरुको पकड बलियो छ, त्यसैको कारण हामी पूर्ण अधिकारसहितको संघीयतामा जान सकेनौं, प्रदेशका माननीयहरु निरिह बनाउनुहुँदैन्, उहाँहरुलाई उत्साहित बनाउनुपर्छ।’ उनले संघीय व्यवस्थालाई असफल बनाउन कर्मचारीहरुले नै सुरु गरेको आरोप लगाए ।
कर्मचारी नहुँदा पनि आफूहरुले कुनै काम पनि नरोकेको शाहीले सुनाए । उनले भने,‘म लगायत मन्त्रीहरु विहान ११ बजेदेखि राति १२, १ बजेसम्म काम गर्छौं, हामी अहिले प्रदेशको विकास र समृद्धि हाँसिल गर्नको लागि गुरुयोजनाहरु बनाईरहेका छौं, छिट्टै मास्टर प्लान सार्वजनिक गर्छौं।’
कर्णाली प्रदेश देश तथा विदेशको लागि पनि परिचित नाम भएको उनको भनाई थियो । उनले थपे,‘कर्णालीको समस्या धेरै प्रत्यक्ष देखेका छन्, कसैले लेखेको पढेका छन्, कसैले कानले सुनेका छन्।’ कर्णाली प्रदेशमा धेरै ठूला ठूला समस्याहरु रहेको उनले सुनाए । ‘भौतिक पूर्वाधार निर्माणदेखि अन्य धेरै कामहरु गर्नुछ, अहिले पनि कर्णालीका धेरै गाउँपालिकामा सडक सञ्जाल छैन, बिजुली बत्ति छैनन्, यसले गर्दा गाउँदेखि सहर जोड्न सकिएको छैन्’–उनले थपे ।
५२ प्रतिशत जनता अहिलेपनि गरिबीको रेखामुनी रहेको बताउँदै उनले भने,‘अहिले यहाँका धेरै ठाउँहरु अनकन्टार छन्, विकट ठाउँहरु छन्, विकास भएको छैन, समृद्धिको पहुँचबाट जनता धेरै टाढा छन्।’ यद्धपी उनले ठूला–ठूला समस्या भएको ठाउँमा धेरै सम्भावना पनि हुने विश्वास दिलाए ।
प्राकृतिक सौन्दर्यतालेपनि कर्णाली धेरै सुन्दर रहेको उल्लेख गर्दै शाहीले भने,‘यो प्रदेशको सिरानीमा कैलाश पर्वत पर्छ, छायाँनाथ, मालिकाजस्ता चर्चित धार्मिक सम्पदा छन्, मानसरोवर, रारा, शे–फोक्सुण्डो यही प्रदेशमा छन्, धेरै राम्रा ठाउँहरु छन्, कृषिको पनि राम्रो संभावना छ, यहाँका खाद्यवस्तु मेडिसिनको रुपमा उपयोग हुन्छन्, हाईड्रोपावर सबैभन्दा बढि यही प्रदेशमा छ, प्राकृतिक साधन र स्रोतले यो प्रदेश धनी छ, तर हाम्रो मुख्य एजेण्डा भनेको वीउ रोप्ने हो, हामी वीउको खोजीमा छौं, त्यो भनेको हाईड्रोको वीउको खोजी हो, पर्यटनको खोजी हो।’
आफूहरुको प्रदेशमा लगानीको लागि पुँजीको आवश्यकत्ता रहेको शाहीले सुनाए । उनले भने,‘कर्णाली प्रदेशसँग कुर्सी किन्ने हैसियत छैन, उद्योगधन्धा, कलकारखाना केही पनि छैनन्, आर्थिक स्रोत शुन्य छ, तर गर्नुपर्ने धेरै कामहरु छन्।’ उक्त प्रदेश चट्टानै चट्टानले भरिएकोले केन्द्रले आर्थिकको लागि विशेष व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
कर्णालीको विकासको लागि केन्द्रिय बजेटको ५० प्रतिशत बजेट छुट्याउँदापनि नपुग्ने उनले जिकिर गरे । उनले भने,‘केन्द्रिय बजेटको ५० प्रतिशत बजेट छु्टयाउँदा पनि हामीलाई कमै हुन्छ।’ थोरै लगानीले कर्णाली प्रदेशको विकास नहुने उनले स्पष्ट पारे । ‘यसको लागि राष्ट्रिय पुँजीको लगानी गर्ने वातावरण बनाउनुपर्छ, यो प्रदेशको विकासको लागि कति बजेट चाहिन्छ भनेर हामी गुरुयोजना तयार पार्दैछौं।’
छोटो समयमा तिव्र विकास हाँसिल गर्नको लागि राष्ट्रिय पुँजीको प्रयोगसँगै अन्र्तराष्ट्रिय पुँजीको पनि सहयोग लिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई थियो । ‘जनतालाई भोकै मर्नुपर्दैन्, अकालमै मर्नुहुँदैन्, नाँगो रहनुपर्ने अवस्था हामी नराखी विकास र समृद्धि दिलाउँछौं, त्यो अनुभव दिलाउँछौं’–उनले भने।
आफ्नो प्रदेशमा कार्यालयको व्यवस्था र कुर्सीको व्यवस्था नभएपनि जनताको विकासको लागि आफूहरु दत्तचित्त भएर अहिले लागिपरेको शाहीले सुनाए । उनले भने,‘ठूला र राम्रा कुर्सीमा बसेर पनि योजना बनाउने होईन, योजना त हामी चौरमा बसेरपनि गर्छौं।’
आफूहरु अहिलेपनि क्षेत्रिय कार्यालयको भवनमा बसिरहेको शाहीको भनाई थियो । उनले थपे,‘पर्याप्त भवन छैनन्, जिसिसीको हलमा हामी सभा चलाईरहेका छौं, भित्र सांसदपनि सँगै, पत्रकारपनि सँगै र दर्शकपनि सँगै हुन्छौं, एउटा सानो कोठा छ, हामी भित्र निर्णय गर्दा जे–जे भन्छौं, पत्रकार पनि त्यही भन्नुहुन्छ।’
त्यस्तै उनले प्रदेशको विकासको लागि शिक्षा नीति व्यवहारिक बनाउन आफूले आवश्यक निर्देशन दिईसकेको सुनाए ।
उनले थपे,‘मध्यपश्चिममाञ्चल विश्वविद्यालयका भिसी, डिनसँग कुरा गरें, मैले उहाँहरुलाई व्यवसायिक र व्यवहारिक शिक्षा प्रणाली अपनाउन आग्रह गरेको छु, यो प्रदेशलाई सुहाँउदो शैक्षिक कोर्स समावेश गर्न आग्रह गरेको छु।’
आफूहरु अहिले प्रदेशको लागि चाहिने ऐन तथा कानूनहरु निर्माणमा जुटिरहेको पनि शाहीले जनाए । उनले भने,‘मलाई एक मिनेटपनि फुर्सद छैन, म एनजिओ, आईएनजिओदेखि पार्टीको कार्यक्रममा समेत गएको छैन, यो बीचमा हामीले धेरै मेहनत गरेर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्यौं, प्रदेशलाई चाहिने ऐन तथा कानूनहरुको हामीले डा«फ्ट गरिरहेका छौं, अहिलेसम्म २० वटा जति डा«फ्ट तयार पारेका छौं।’ त्यस्तै प्रदेशको स्वेतपत्र जारी गर्ने अन्तिम तयारीमा आफूहरु जुटेको शाहीले बताए ।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मुख्यमन्त्री शाहीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन् । उनले भने,‘कर्णाली प्रदेशलाई समृद्ध बनाउनुहोस्, जनताको मुहारमा खुशीयाली ल्याउनुहोस्, तपाईको कार्यकाल सफल रहोस्, तपाईका सकारात्मक कामको लागि हामी सँधै सहयोग गर्छौं, क्लब साथमा हुन्छ।’