Logo

फोट्स नेपालद्धारा विमान दुर्घट्नामा दिवंगत भएकाहरुको सम्झनामा दिप प्रज्वलन



काठमाडौं, ३० फागुन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा आज (बुधबार) साँझ काठमाडौंको शान्तिवाटिकामा दीप प्रज्वलन गरिएको छ ।

प्राविधिक विद्यार्थी परिषद (फोट्स नेपाल) ले आयोजना गरेको उक्त कार्यक्रममा सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको हो । कार्यक्रम संयोजक समेत रहेका फोट्सका कार्यवाहक अध्यक्ष प्रदिप सिलवालले सोही दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा कांग्रेस चितवन जिल्ला सभापति जितेन्द्र नारायण श्रेष्ठ, कांग्रेस संखुवासभा जिल्ला सभापति दिपन श्रेष्ठ, कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेविसंघ उपाध्यक्ष नविन राई, विद्यार्थी नेताहरु दिपक भट्टराई र हिमालदत्त श्रेष्ठको पनि सहभागिता रहेको पनि सिलवालले बताए ।

विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा हिजो भएको सो विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो भने सो दुर्घटनामा परी घाइते भएका तथा २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्