Logo

मेरो राम्रो कामबाट प्रभावित भएर खराब तत्वहरुले षडयन्त्र गरे, म पदमुक्त भएको छैन : गोपाल पराजुली (भिडियोसहित)



प्रधानन्यायाधीश गोपाल पराजुलीले आफु प्रधानन्याधीश नै रहेको दावी गरेका छन् । न्याय परिषद् सचिवलाई प्रधानन्यायाधीशलाई अवकाश दिने पत्रनमान्ने र त्यो पत्र मान्ने हो भनेपनि थप एक बर्ष बस्न पाउने उनले तर्क गरेका छन् । नेपाली बहसमा ऋषि धमलासँग कुराकानी नै प्रधानन्यायाधीश पराजुलीले षड्यन्त्रपूर्वक पत्र काट्ने काम भएको र सचिवलाई पत्र काट्ने अधिकार नभएको बताएका छन् । उनले न्यायालयमाथि राजनीति भएको र गुटा आधारमा न्यायाधीश चलेको बताए ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल नरहेको भन्दै पत्र काटेपछि उत्पन्न विवादका बीच प्रधानन्यायाधीश पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका हुन । उनीसँगको विस्तृत अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईलाई प्रधानन्यायाधिशबाट मुक्त गरिएको छ । तपाई के भन्नुहुन्छ ?
म प्रधानन्यायाधिशबाट पद मुक्त भएको छैन । दिपकराज जोशी आफैले मेरो विदा स्विकृत गर्नुभएको छ । न्याय परिषदका सचिवले मेरो अवकास भनेर लेखिएको पत्र नै गैर कानुनी छ । मलाई पदमुक्त गर्ने अधिकार सचिवको छैन । न्यायपरिषदले सात दिन अगाडि नै निर्णय गरेर जानकारी गराउनुपर्छ । मेरो नागरिकता, शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिअनुसार २०७५ साल वैशाख १५ गते म अवकास हुन्छु । सोभन्दा अगाडि नै दिइएको अवकाश पत्र नै गैर कानुनी छ ।

न्याय परिषदले त तपाईले जन्ममितिमा किर्ते गरेको ठहर गर्यो नि ?
किर्ते भएदेखि म सबै सजायँ भोग्न तयार छु । तर न्याय परिषदले पनि किर्ते भनेको छैन । नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममितिबिच दूई वर्षको अन्तर देखिएको छ । त्यसकारण साउन २१ गतेदेखि अवकास हुनुपर्ने भनिएको हो ।

नेपालको इतिहासमै तपाई विवादित बन्नुभयो । प्रधानन्यायाधिश जस्तो व्यक्तिले किन जन्ममिति तलमाथि गर्नुभएको त ?
केही तलमाथि छैन । यो षडयन्त्रकारीहरुको धेरै नै नराम्रो किसिमको उद्देश्यबाट गरिएको काम हो । मेरो जन्ममितिमा गल्ती छैन । म २०१० साल वैशाख १६ गते जन्मिएको हुँ । २०३१ साल साउन २१ गते नागरिकता लिएको हुँ । त्यसमा वर्ष २१ भनेर लेखिएको छ । सोही अनुसार मेरो जन्ममिति कायम गरिएको हो । बाँकी सबै मनगणन्ते र साजिसपूर्ण प्रयास हो ।

प्रधानमन्त्री केपी ओलीलेसमेत देशको प्रधानन्यायाधिशको जन्ममिति सबैले थाहा पाउनुपर्छ भन्नुभयो नि ?
एकैपटक जन्मिएको मान्छेको जन्ममिति एउटै हुन्छ । तर जन्ममिति र नागरिकता बनाउने संस्थाहरुमा देखिने विभिन्न विविधताहरुले सृजना गरेको समस्या हो । वास्तविकता भनेको २०१० साल वैशाख १६ गते नै मेरो जन्ममिति हो ।

परिक्षा नियन्त्रण कार्यालयमा उल्लेख गरिएको जन्ममिति अनुसार तपाईको कार्यअवधि सकिएको न्याय परिषदले उल्लेख गरेको छ नि ?
त्यसमा त मेरो जन्ममिति ११ साल वैशाख वैशाख १३ गते लेखिएको छ । उक्त जन्ममितिअनुसार त मैले अझै एक वर्ष जागिर खान पाउँछु ।

तर प्रधानन्यायाधिश जस्तो व्यक्तिको जन्ममिति फरक फरक किन भयो ? यो त तपाईले ढाँटेको जस्तो भयो नि ?
मैले ढाँटेको छैन । मैले त त्यो प्रमाणपत्रको आधारमा क्याम्पस भर्नादेखि लिएर डिग्री गर्दासम्म जे लेखेको थिएँ, त्यसैको आधारमा मैले सेवा गरेको हुँ ।

अहिलेको अवस्थामा न्यायालयमा अन्यौलता त बढ्यो नि ?
अन्यौलता र समस्या जानाजान खडा गरिएको हो ।

कसले गर्यो यस्तो ?
नेपालको न्यायालयलाई सिमित व्यक्तिहरुको, गुटको महत्वाकांक्षा बमोजिम नियुक्ति गरिएका मानिसहरुलाई प्रोत्साहन गर्ने, आफ्नो अनुकुल बनाउन चाहनेहरुको षडयन्त्र हो ।

तर न्यायाधिशहरुले नै इजलास बहिष्कार गरे नि ?
यो बहिष्कार पनि त्यस्तै गुटबाट प्रभावित भएर हो । सुनियोजित ढंगले निहित स्वार्थका लागि भएको हो । न्यायालयलाई असफल बनाउनका लागि हो । मैले न्यायालयमा धेरै राम्रो काम गरेको थिएँ । कालजयी फैसला मैले गरेँ । यस्ता काम भइरहेका बेलामा षडयन्त्र भएको हो ।

तपाईले केके राम्रा काम गर्नुभयो ?
मैले अनलाईन रजिष्ट्रेसन अर्थात घरमै बसेर मुद्दा दायर गर्न सक्ने बनाएको छु । साँढे १२ बजे लाग्ने अड्डा १० बजे नै खुल्ने बनाएको छु । मुख्य रजिष्ट्रारहरुको पद दशौँ वर्षदेखि अल्झिएको थियो, त्यसलाई नियुक्ति गर्ने व्यवस्था गरेँ । परीक्षा लिएर योग्य न्यायाधिशहरु ल्याउने व्यवस्था गरेँ । मैले ३९ बुँदे कार्यक्रम बनाएको थिएँ । तिमध्ये करिब ३२ वटा काम भएको छ ।

तर गोपाल पराजुलीको फैसलाले ६१ अर्व रुपैयाँ गुम्यो नि ?
यो कुराको प्रमाणित गर्न सक्ननुहुन्छ ? मैले त्यस्तो कुनै पनि फैसला गरेको छैन । यो सब न्यायालयलाई कमजोर बनाउने कुरा हो । अदालतबाट भएका निर्णय नमान्ने प्रवृत्तिमा कुनै पनि मिडियाले भाग लिनु हुँदैन ।

मेडिकल माफियाले तपाईमाथि षडयन्त्र गरेका हुन् ?
मलाई त्यस्तो लाग्दैन । तर केही न केही साजिस भएको छ । मेरो राम्रो कामबाट प्रभावित भएर केही खराब तत्वहरुले ममाथि गरिएको षडयन्त्र हो । यसलाई कमजोर राज्यले नियन्त्रण गर्न सकेन ।

एनसेल, सुर्य नेपाल र गोर्खा ब्रुअरीमा त तपाई फस्नुभयो नि ? यि संस्थासँग सम्बन्धित ठूला निर्णय गर्दा देशलाई आर्थिक नोक्सानी भयो नि ?
मैले ति संस्थाहरुमा वा गोपाल खड्काको केसमा निर्णय गरेको छैन ।

तपाईले आफू विरुद्धको मुद्दा किन आफ्नै बेञ्चमा राख्नुभयो ? कान्तिपुरको मुद्दामा पनि त्यस्तै भयो । किन ?
भुपी शेरचनले भने जस्तो यो हल्लै हल्लाको देश हो । हल्लाको आधारमा गरिएको काम कारबाही हुन् ।

तपाईले कान्तिपुरका कैलाश सिरोहियालाई थुन्ने योजना बनानुभएको भन्ने आरोप छ नि ?
मैले त्यस्तो कुनै योजना बनाएको थिइन । उहाँहरुले नै अशिष्ट, अशोभनीय, अतथ्य र झुटा समाचार प्रकाशन गरेकाले अदालतको अवहेलना मुद्दा दायर भएको हो ।

तर यो मुद्दा तपाई आफैले किन हेर्नुभयो ?
यस मुद्दामा प्राकृतिक न्यायको सिद्धान्त लागु हुँदैन । अदालतको अपहेलनासम्बन्धी मुद्धा न्यायाधिशले हेर्ने हो ।

अब तपाई के गर्नुहुन्छ ?
म अहिले नियमित काम गर्छु । अदालत पनि जान्छु । छलफल र सल्लाह गरिरहेको छु ।

कामु प्रधानन्यायाधिश दिपकराज जोशीले त काम गर्न दिन्न भन्नुभएको छ नि?
हाम्रो सफ्टवेयरमा सबै व्यवस्थापनका बारेमा लेखिएको हुन्छ । त्यसका आधारमा म अगाडि बढ्छु ।

तर न्यायालय त अस्तव्यस्त भयो नि ? अब कसरी जोगाउन सकिन्छ ?
न्यायालयलाई विभिन्न तत्वहरुले कमजोर बनाउने प्रयास गरे । अहिलेको अवस्था त्यसैको परिणाम हो । केही दिनमा नै यो सम्हालिन्छ । न्यायालय सबैको हो । पतिभक्ती त मर्दैन पापी पति भए पनि । देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भनेजस्तै राष्ट्रका लागि न्यायालय अत्यन्तै आवश्यक छ ।

तपाईले नै सरुवा गर्नुभएका नृपध्वज निरौलाले तपाईलाई पदमुक्त भएको पत्र लेख्नुभयो नि ?
यही त साजिस हो नि ।

तर गोविन्द केसीले त आफ्नै कारणले गोपाल पराजुली पदमुक्त भएको दाबी गर्नुभएको छ नि ?
उहाँको कुरालाई मान्ने हो भने त मलाई हत्यारा पनि भन्नुभएको छ, जे पनि भन्नुभएको छ । त्यस्तो अराजक अभिव्यक्तिलाई राष्ट्रले मान्यता दियो भने राष्ट्रले नै दुःख पाउँछ ।

तपाईले अटेर गरे महाअभियोग लगाउने चेतावनी प्रधानमन्त्रीले नै दिनुभएको छ नि ?
उहाँले के भन्नुभएको छ, त्यो मलाई थाहा छैन ।

यस विषयमा तपाई र प्रधानमन्त्रीबिचमा कुरा भएको छ ?
प्रधानमन्त्री त कार्यकारी अंगको प्रमुख हो । उहाँका लािग यो चासो दिने विषय होइन । हामी आँफैले सुल्झाउने विषय हो ।

तपाई सर्वोच्च अदालत नगई विदामा बस्दा के हुन्छ ? देशको प्रधान्यायाधिश जस्तो व्यक्तिले द्धन्द्ध कम गर्ने उपाय खोज्न सक्नुहुन्न ?
यस विषयमा म सोच्दैछु । गम्भीर रुपमा सोचिरहेको छु । एकछिनपछि नतिजा आउँछ ।

https://www.youtube.com/watch?v=EBi2uCGPNm0



प्रतिक्रिया दिनुहोस्