Logo

आज उपसभामुखको निर्वाचन, एमालेकी शिवमाया तुम्बाहाम्फेको जित निश्चित



चैत २, काठमाण्डौ । उपसभामुखको निर्वाचन आज हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।

उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वा्चित हुने पक्का छ ।

कांग्रेसले उपसभामुखमा तुम्बाहाम्फेलाई समर्थन गर्न सकिदैन भन्ने सन्देश दिनका लागि मात्रै उम्मेदवार बनाएको देखिन्छ ।

किनकी यसअघि सभामुखमा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बन्दा कांग्रेसले समर्थन गर्दै आफ्नो तर्फबाट उम्मेदवार बनाएको थिएन ।

एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ ।

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।

यदी पहिले नै एमाले र माओवादीबिच एकता भएको हुन्थ्यो भने पद बाँडफाँट परिवर्तन हुने थियो । किनकी एउटै दलबाट राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुख बनाउन संविधानले रोक लगाएको छ ।

एकता भइसकेको भए उपराष्ट्रपति र उपसभामुख पद मधेशवादी दलले पाउने थिए । अथवा कांग्रेसलाई पनि दिन सक्थे ।



प्रतिक्रिया दिनुहोस्