चैत २, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर यसअघि नै सरकार गठन गरिसकेका छन् । तर मन्त्रीमण्डलले पूर्णता पाएको छैन ।
आज हुने मन्त्रीमण्डल विस्तारमा दुवै दलबाट मन्त्री थपिनेछन् भने संघीय समाजवादी फोरमले पनि आफ्ना सासंदलाई सरकारमा सहभागि गराउने भएको छ ।
सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने बाटो खोलेको राष्ट्रिय जनता पार्टी नेपाल राजपा पनि सरकारमा सहभागि हुने चर्चा छ । तर राजपाभित्रै सरकारमा सहभागि हुने विषयमा विवाद छ ।
प्रतिनिधिसभा सदस्यका लागि कैलालीबाट निर्वाचित भएका आफ्ना सासंद जेलमै अनशन बसेपछि राजपा सरकारमा सहभागि हुने विषयमा अलमलमा परेको हो ।
चौधरीले आफूले सासंदको प्रमाणपत्र र सपथ ग्रहण गर्न पाउनुपर्ने माग राख्दै जेलमै अनशन बसेका हुन् । टिकापुर हत्याकाण्डका मुख्य योजनाकार भन्दै अदालतमा मुद्दा चलिरहेको छ ।
उनै चौधरीको अनशनको विषयले राजपा सरकारमा सहभागि हुने विषय पेचिलो बनेको हो ।
राजपाका केही नेताहरुले सरकारमा सहभागि भएर चौधरीको अनशन तोडाउन पहल गर्नुपर्ने बताएका छन् भने केही नेताहरुले पहिला चौधरीको माग पूरा गराएर मात्रै सरकारमा सहभागि हुनुपर्ने तर्क गरेका छन् ।
नेताहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी लगायतले सरकारमा सहभागि भएर चौधरीको माग पूरा गराउनुपर्नेमा जोड दिएका छन् भने अनिल झा र महेन्द्र राय यादव लगायतका नेताहरुले भने पहिला चौधरीका माग पूरा गराउन सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले यस विषयमा दलभित्र छलफल गरिरहेका छन् ।