सुरेन्द्र भण्डारी : सुरुङ्गा, झापा, २ चैत / झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६० जना जति बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन् ? कसरी खान्छन् ? के लगाउँछन् ? के ओढ्छन् ? कहाँ सुत्छन् ? अनि कहाँबाट आए यत्तिका धेरै बालबालिका ? त्यसको कसैलाई चासो छैन ।
सडक बालबालिकाका रुपमा चिनिएका उनीहरुलाई समाजका लब्धप्रतिष्ठित व्यक्तिले नै ‘खाते’ उपनामले बोलाउँछन् । आठ वर्षदेखि १५ वर्ष उमेर समूहका एकै जसो देखिने यी बालबालिका बजार क्षेत्रमा यत्र–तत्र भेटिँदा पनि सम्बन्धित निकाय वा स्थानीय सरकार भने अझै बेखबर छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले सडक बालबालिका व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२’ जारी गरेको छ । तर, जारी मार्गदर्शन कागजमै सीमित हुँदा १६ वर्षमुनिका बालबालिका बाँच्ने झिनो आशा बोकेर सडकमा दिनहुँ भौंतारिरहेका छन् ।
अन्तर्राष्ट्रिय कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई र नेपालको कानूनले १६ वर्ष भन्दा मुनिका किशोरकिशोरीलाई बालबालिका भन्ने गरिएको छ । विसं २०६८ को जनगणना अनुसार १६ वर्षभन्दा मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको झण्डै ४० प्रतिशत छ । अठार वर्ष मुनिका भने ४४ प्रतिशतभन्दा बढी छन् । तीमध्ये विद्यालय उमेर समूहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार बालबालिका सडकमा जीवन बिताइरहेका छन् । सडक बालबालिकाको सख्या भने प्रत्येक वर्ष चार सयका दरले वृद्धि हुँदै आएको सरकारी तथ्याँक छ ।
बाल अधिकारको संरक्षणको प्रमुख जिम्मेवारी घर परिवारको हुन्छ । परिवारले उनीहरुको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको अवस्थामा राज्यको प्रमुख जिम्मेवारी रहन्छ । तर, राज्यले सडकमा यत्रतत्र हिँड्ने बालबालिकाको संरक्षण नगर्दा उनीहरु सडकमै रात बिताउन बाध्य छन् ।
कति बालबालिका चोरी, लुटपाट, लागुऔषध दुव्यर्सनमा संलग्न छन् भने कतिपय बालबालिका विभिन्न असामाजिक क्रियाकलापमा लागेको पाइएको छ । बालबालिकाका क्षेत्रमा विभिन्न संघ–संस्था र राज्यले लाखौं रुपैयाँ वर्षेनी खर्चिने गरेको छ तर सडक बालबालिकाको जीवनमा देखिने गरी कुनै परिवर्तन आएको छैन ।
दमक र भद्रपुर तथ्याँक संकलन हुँदैै
चोरी, लुटपाट र लागूऔषध दुव्यर्सनमा सडक बालबालिका संलग्न रहेको पाइएपछि दमक र भद्रपुर नगरपालिकाले उनीहरुको तथ्याँक संकलन गर्न शुरु गरेको छ । बजार र सडकपेटीमा रहेका बालबालिकाहरुको अवस्था दयनीय रहेको भन्दै दमक नगरपालिकासँगको सहकार्यमा लागुऔषध पुनःस्थापना संघको अगुवाइमा अहिले त्यस्ता बालबालिकाको संरक्षण र तथ्याँक संकलन शुरु गरिएको हो । नगरपालिकाले उनीहरुको संरक्षणका लागि बजेट नछुट्याए पनि विभिन्न शीर्षकबाट उनीहरुको भरणपोषण र संरक्षण गर्ने अठोट दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले व्यक्त गर्नुभयो । उहाँका अनुसार दमक नगरपालिकामा मात्रै १८ देखि २० को संख्यामा अभिभावकविहीन सडक बालबालिका रहेका छन् र अभिभावक भएपनि कुलतमा फसेका बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दो छ ।
यता, भद्रपुर नगरलालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ सडक बालबालिकाको तथ्याँक संकलन गरिरहेको र उनीहरुका लागि ठोस कार्यक्रम नभए पनि संरक्षणका लागि योजना बनाएर अघि बढ्ने बताउनुहुन्छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो नगरमा अहिलेसम्म सडक बालबालिका नभएको बताउनुभयो । समस्या देखिएको खण्डमा तत्काल उनीहरुको संरक्षण र पुनःस्थापना गर्ने उहाँको भनाइ छ । आफ्नो नगरलाई लागुऔषध प्रयोगकर्ताविहीन बनाउन ‘भिजन’ सहित अघि बढ्ने उहाँले बताउनुभयो ।
यसरी फस्छन् कुलतमा बालबालिका
दमक निवासी चक्रबहादुर दर्जीले श्रीमती गंगा नाबालक दुई छोरा छोडेर अर्कैसँग हिँडेपछि छोराको लालनपालन र रेखदेख गर्न कान्छी श्रीमती भित्र्याए । कान्छी श्रीमती भित्र्याएको केही दिनमै चक्रबहादुरको घरमा आगो लगाएर उनी पनि हिँडिन् । कान्छी श्रीमती हिँडेको हप्तादिन बित्न नपाउँदै चक्रबहादरको मृत्यु भएपछि उहाँका दुई छोरा सहाराविहीन बने । विजय चक्रबहादुरका कान्छा छोरा हुन् । दाजुको अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएपछि विजयको संरक्षक कोही भएन । त्यसपछि उनी सडकमा रात बिताउन बाध्य भए । अभिभावकविहीन बन्न पुगेका विजय साथीको लहैलहैमा लागेर लागुऔषध सेवन गर्न थाले । उनले दमकको सडकमा सात वर्ष बिताए । उनी अहिले १५ वर्षका भए । सात वर्ष सडकमा बिताउँदा उनले भोक मेटाउन कहिले मागे त कहिले चोरी गरे । चोरी गर्दा धेरैपटक कुटाइ खाएको तीतो अनुभव छ उनीसँग । उनी अहिले सडकबाट सुधार गृह पुगेका छन् ।
उनी मात्र होइन दमककै १५ वर्षीय सरोज श्रेष्ठ पनि हाल सुधार गृहमा छन् । उनका अभिभावक भएपनि कमजोर आर्थिक अवस्थाका कारण सिङ्गो परिवार मागेर हिँड्ने गरेको उनले बताए । उनले पनि दमकलगायत पूर्वका विभिन्न बजार र सडकमा रात बिताएका छन् । उनले सडकमा रात बिताउँदा डेन्ड्राइट लगायतका नशालु पदार्थ सेवन गर्न सिके । लागुऔषध प्रयोग गर्नकै लागि कहिले पकेट मारे त कहिले चोरी गरे । माग्दा नपाएपछि धेरैपटक चोरी गरेको सुनाउँदै उनले भने – “कति पटक त टेलिफोन, केवल र बिजुलीको तार काटेर बिक्री गरेका छौं । चोरी गर्नुभन्दा तार काटेर बिक्री गर्न सजिलो हुन थालेपछि नियमित जसो तार चोरी गथ्र्यौं । दमकका धेरै पसललाई हामीले चोरी गरेको तार बेचेर लागुपदार्थ खायौं ।”
कुलतमा फसेकाको निःशुल्क उपचार
सरोकारवाला निकायले कुलतमा फसेका सडक बालबालिकाको हेरचाह नगरेपछि नेपाल आगुऔषध पुनःस्थापना संघले उनीहरुको निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको छ ।
कुलतमा फसेका सडक बालबालिकाको संख्या झापामा दिनानुदिन बढेका कारण उनीहरुलाई सही बाटोमा ल्याउन संघले निःशुल्क उपचार र पुनःस्थापना गर्न शुरु गरेको संघका केन्द्रीय अध्यक्ष राजु गिरीले बताउनुभयो । उहाँले भन्नुभयो – “सडक बालबालिकाको अवस्था दयनीय रहेको छ र कसैले नहेरिदिएकाले उनीहरुलाई उपचार गर्दै नयाँ जीवन दिलाउन हामीले अभियान शुरु गरेका हौंैं ।”
अभियानअन्तर्गत दमकबाट पाँचजना सडक बालबालिकालाई संघले उद्धार गरी संरक्षण दिँदै आएको छ । संरक्षण गरिएका पाँच बालकमध्ये तीन जनालाई दमकमा रहेको ह्याप्पी नेपालको संरक्षणमा राखिएको छ भने दुई जना बिर्तामोडस्थित पुनर्जन्म समूह नेपालमा राखिएको छ । उनीहरुलाई निःशुल्क उपचार र पुनःस्थापन नहुञ्जेल संस्थामा राखिने र स्थानीय निकायले सहयोग गरे लागुऔषध सेवनको लतमा फसेका सबै सडक बालबालिकाको उद्धार गर्ने संघको लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो । उनीहरुको उद्धारका लागि दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले सहयोग पु¥याएका छन् । सडक बालबालिकाको उपचार र पुनःस्थापनापछि दमक नगरपालिका, लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टको रोहवरमा समाजमा पुनःस्थापना गरिने गिरीको भनाइ छ ।
यता, ह्याप्पी नेपालका कार्यक्रम संयोजक तथा नेपाल लागुऔषध पुनःस्थापना संघका सचिव कुमार गुरुङले सडक बालबालिकाको निःशुल्क उपचार र पुनःस्थापनाका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुुभएको छ । केही सडक बालबालिकाको उद्धारले मात्र समस्याको दीर्घकालीन समाधान नहुने भएकाले सहयोगका लागि उहाँले सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
झापामा लागऔषध नियन्त्रण गर्ने अभियानमा १३ वटा संघ–संस्था क्रियाशील रहेका छन् ।