काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले ११ जना मन्त्री र चार राज्यमन्त्रीसहित आज सरकार विस्तार गरेका हुन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको सपथमा प्रधानमन्त्री ओलीले थपिएका चार जना राज्यमन्त्रीको सपथ नयाँ ‘स्टाईल’ले गराएका छन् । उनले सपथको सुरुवातमा म भन्ने वाक्य दोहोर्याउन लगाए भने बाँकी लिखित सपथपत्र वाचन गर्न लगाएका थिए ।
ओलीली एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री बनाएका छन्। त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन्। एमालेबाट जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन्।
ओलीले केही राज्यमन्त्री समेत थप गरेका छन्। गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ। त्यस्तै, पद्मा अर्याल पनि राज्यमन्त्री बनेकी छिन्।
माओवादीबाट गिरिराजमण पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुई र माओवादी केन्द्रका दुई मन्त्री थप गरेका थिए।
ओलीले एमालेका इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री बनाएका थिए।