काठमाडौं, ३ चैत्र । बुढानिलकण्ठ वडा नम्बर ५ का वडा अध्यक्ष विजय तामाङले उपभोक्ता समितिको आग्रहलाई लत्याउँदै खानेपानी ल्याउन असहयोग गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् ।
शनिबार चिसानी थारथोक खानेपानी उपभोक्ता समितिका संयोजक अर्जुन बलबुलको नेतृत्वमा पुगेको टोलीले वडा अध्यक्षलाई खानेपानी ल्याउन आग्रह गर्दापनि उनले कुनै सुनुवाई नगरेको बुझिएको छ ।
तत्काल खानेपानी ल्याउनुपर्ने माँग गर्दै लगभग २ सय जनाको उपस्थितिमा आज वडा अध्यक्षसमक्ष उपभोक्ता समितिको डेलिगेशन पुगेको थियो । विष्णुमतिको मुहान चिसानीबाट खानेपानी ल्याउन उपभोक्ताले सिफारिश गरेको हो ।
खानेपानी ल्याउनको वडाले २० लाख रुपैयाँको खानेपानी कोष स्थापना समेत गरेको छ । सोही कोषबाट खानेपानी ल्याउनुपर्ने उपभोक्ताको माँग रहेको छ । तर, वडा अध्यक्ष तामाङ्ले स्थानीयहरुको माँगलाई बेवास्ता गर्दै पानी ल्याउन आलटाल गरेको बुझिएको छ ।
तत्काल खानेपानी ल्याउने व्यवस्था नगरे वडा अध्यक्षविरुद्ध उपभोक्ताले कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।