काठमाडौं, ३ चैत्र । काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाईएको छ । घोडेजात्राकै अवसरमा नेपाली सेनाले आज टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ ।
राष्ट्रपति विद्या भण्डारीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरेकी छिन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधान्यायाधीश दिपकराज जोशी, उपराष्ट्रपति नन्दबहादुर पुन , सभामुख कृष्णबहादुर महरा, रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, उच्च पदस्थ कर्मचारी र नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुको सहभागिता थियो ।
प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।
अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।
काठमाडौंको टुंडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइन्छ ।
तस्विर : मुकुन्द कालिकोटे