Logo

कांग्रेस बैठकमा हिन्दुराष्ट र राजसंस्थाको पक्षमा छलफल, संघीयता खारेज गर्ने विषय प्रवेश हुँदै



चैत ४, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै गर्दा नेताहरुले विभिन्न एजेण्डामा छलफल गर्ने तयारी गरिरहेका छन् ।

प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा हुने छलफल प्राथमिकतामा छ भने अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारी भइरहेको छ ।

पार्टी सुधारका लागि विभिन्न समुहले तयार पारेको योजना प्रस्तुत हुनुका साथै प्रतिपक्षी दलको भूमिकामा कसरी प्रस्तुत हुने भन्ने विषयले बैठकमा प्राथमिकता पाउने छ ।

यसका अलावा हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा नेताहरुले बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

हिन्दुराष्ट्रको पक्षमा खुलेरै लागेका खुमबहादुर खड्का समुहले केन्द्रिय समिति बैठकमा यसबारे छलफल प्रवेश गराउने तयारी गरेको छ ।

खड्का समुहका केन्द्रिय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने विषयमा छलफल गराउँदैछन् । उनले नै राजसंस्था फर्काउनुपर्छ भन्ने एजेण्डासमेत प्रस्तुत गर्ने बताइएको छ ।

यता अर्का केन्द्रिय सदस्य डा.रामशरण महतले भने नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको भन्दै उक्त विषयलाई बैठकमा प्रवेश गराउने तयारी गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने पार्टी नेतृत्वको चर्को आलोचना गर्ने तयारी गरेका छन् । त्यसैगरी संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी गर्ने भन्ने विषयलाई पनि छलफलमा केन्द्रित गराउने तयारी गरिएको छ ।

देउवा समुहले भने चुनावमा कांग्रेस पराजित हुनुको कारण नेतृत्व कमजोर भएर होइन भन्ने कुराको पुष्टी कसरी गर्ने भन्ने विषयमा गृहकार्य गरिहेको छ ।

बैठक यही चैत ९ गतेदेखि बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्