Logo

सिँचाइ आयोजनाको काम सुस्त गतिमा



जितपुर, कपिलवस्तु, ४ चैत / यहाँ सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघिदेखि शुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कूल १० वटा सिँचाइ आयोजना सञ्चालित छन् ।

कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी शुरु भएका कारण सिँचाइ आयोजनाको काम सुस्त गतीमा अगाडि बढेका हुन् । अधिकांश योजना गत वर्ष टेण्डर भई यस वर्षदेखि शुरु भएका हुन् । तत्कालीन फुलिका गाविसमा रहेको नग्दरिया सिँचाइ आयोजना अहिलेसम्म शुरु नै हुन सकेको छैन । दशवटा सिँचाइ आयोजनाको कूल लागत करीव ५० करोड छ तर डिभिजन प्रमुख राजेन्द्र महतोले एक–दुई वटा आयोजननाबाहेक अरू आयोजना सन्तोषजनक ढंगले चलेको दाबी गर्नुभएपनि चालु आर्थिक वर्षको आठ महिनामा भौतिक प्रगति भने २५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताउनुभयो ।

दुई वटा छुट्टाछुट्टै प्याकेजमा निर्माण शुरु गर्ने तयारीमा रहेको आयोजना फुलिकाको छिमेकी गाउँँ वनगाई डिहीका गाउँँलेले विरोध गरेपछि रोकिएको उहाँले बताउनुभयो । “दुई गाउँको आपसी विवादले सिँचाइ आयोजना दुई महिनादेखि अवरुद्ध बनेको छ”, डिभिजन प्रमुख महताले भन्नुभयो । चारसय पचास हेक्टर क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यका साथ आयोजनाको काम थालिएको थियो । “वनगाई गाउँका स्थानीयवासीले आफ्नो गाउँसम्म नै सिँचाई लग्नुपर्छ भन्दै काम रोकेका छन्,” उहाँले भन्नुभया,े “सो आयोजनाको सर्भेक्षण नक्सा बमोजिम नै काम थालिएको हो । ” वनगाईसम्म लिफ्टबाट पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि वनगाईले नमानेपछि काम अघि बढ्न सकेको छैन ।

सो आयोजना सञ्चालन गर्न सांसद चक्रपाणि खनाल, अतहर कमाल र काँग्रेस नेता दीपकुमार उपाध्यायले पहल गरे पनि अहिलेसम्म शुरु हुन सकेको छैन । “हामीले दुवै पक्षलाई मिलाएर काम चाँडो शुरु गराउनका लागि पहल गरेका छौँ”, सांसद कमालले भन्नुभयो । सो आयोजना २०७४ साल पुस ११ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । बाणगंगा नगरपालिमा रहेको प्रगति नगरमौजा प्रथम चरणको आयोजनाको काम पनि सन्तोषजनक देखिएको छैन । आठ सय हेक्टर सिँचाइ गर्ने लक्ष्यका साथ पाँच करोड १४ लाखको लागतमा आयोजनाका काम अझैसम्म १० प्रतिशतको मात्र भएको छ । निर्माण कम्पनी राजेन्द्र आशीष जेभीले सो काम पाएको छ । दोस्रो चरणमा रू चार करोड ७३ लाखको लागतमा आयोजनाको काम भने आधा सकिएको थियो ।

बाबुल राजना जेभीले लिएको काम समयमै सकिने सिँचाइ डिभिजन कार्यालयले दाबी गरेको छ । दुवै चरणको काम आगामी वर्षको असोज १७ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । सातसय हेक्टर सिँचाइ गर्ने गरी शुरु भएको रू सात करोड ३५ लाखको सिँचाइ आयोजनाको काम १० प्रतिशत मात्र भएको छ ।

तीन सय हेक्टर सिँचाइ गर्ने उद्देश्यले थालिएको लम्तिया सिँचाइ आयोजनाको समेत १० प्रतिशत मात्र भएको छ । नौ सय हेक्टर सिँचाई गर्ने गरी सञ्चालनमा रहेको दुवै चरणको सिँचाइ आयोजनाको काम भने अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख महतोले बताउनुभयो । पहिलो चरणको रू दुई करोड ८५ लाख र दोस्रो चरणको दुई करोड ९० लाख लागत छ । रू आठ करोड ८६ लाखको भुताहा सिँचाइ आयोजना दोस्रोको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । सो आयोजनाबाट ७१५ हेक्टरमा सिँचाइ सुविधा विस्तार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्