चुनावपछि स्थिर सरकार बनेको छ । देश नयाँ दिशातिर अघि बढेको छ । हामीले पनि चुनावपछि वृहत भेला गरिसकेका छौँ । नागरिक समाजको औचित्य अब झन बढ्दै गएको छ ।
चुनावमा भोट हाल्ने नागरिक नै हुन् । त्यसैले नागरिक समाजको भूमिका र औचित्य कहिलै पनि सकिदैन । अहिलेको सरकारले धेरै राम्रो काम पनि गर्न सक्छ । धेरै खराब काम पनि गर्न सक्छ । दुई तिहाईभन्दा बढि बहुमतको सरकारले राम्रो वा नराम्रो काम जे पनि गर्न सक्छ ।
झण्डै तीन चौधाई मत पाएको सरकारबाट खतरा पनि हुन सक्छ । त्यसैगरी राम्रो काम गर्ने सम्भावना पनि भइङ्कर राम्रो छ । त्यसैले हामीले सरकारले के कस्ता काम गर्छ भनेर हेर्नुपर्छ ।
सरकारले राम्रो दिशा समातेर आर्थिक उन्नति गर्यो भने ठीक छ, कसैले केही पनि गर्नु पर्दैन । नागरिक समाज पनि आरामसँग सुख शान्तीसँग बसे हुन्छ । तर सरकारले उट्पट्याङ गर्न थाल्यो, भ्रष्टाचार गर्न थाल्यो, पुरानै शैली दोहोर्यायो भने हामीले यो प्रजातन्त्र पनि गुमाउँछौँ कि भन्ने डर हुन सक्छ । त्यस्तो अवस्थामा हामी फेरी सडकमै उत्रिनुपर्ने हुन सक्छ ।
अहिले प्रतिपक्षी नै छैन । मधेशी दल पनि सरकारमा जाने तयारीमा छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि ज्यादै कमजोर छ । प्रतिपक्षी दल कमजोर हुनु अर्को खतरा हो । प्रतिपक्षी दल यति धेरै कमजोर भएको पहिलो पटक हो । त्यसैले अब त नागरिक समाज नै हो प्रमुख प्रतिपक्षी दल । त्यसैले हामी एकदमै सचेत छौँ ।
अहिलेको सरकारले संविधान संशोधन पनि गर्न सन्छ । संसदबाट जे गर्न चाहे पनि कसैले रोक्न सक्ने अवस्था छैन । अपोजिसन नभै त प्रजातन्त्र नै हुँदैन । कांग्रेस यति कमजोर छ कि, सरकारले जे गरे पनि रोक्न सक्दैन । कांग्रेसका नेताहरुले नै नागरिक समाजलाई प्रतिपक्षीको भमिका खेल्न आग्रह गरेका छन् ।
कांग्रेसले हामीलाई आग्रह गर्नु भनेको वास्तवमै कांग्रेस कमजोर छ भन्ने हो । तर हामी कांग्रेसले जे भन्यो त्यही गर्ने भन्ने होइन ।
सरकारप्रति आशंका मात्रै गरेर हुँदैन । आशा पनि गर्नुपर्छ । लालबाबु पण्डितजस्ता आशालाग्दा मन्त्री पनि छन् । उहाँले जस्तै सबै मन्त्री अगाडि बढ्ने हो भने त देशका लागि राम्रै हुन्छ । तर सरकार उल्टो दिशातर्फ गयो भने नागरिक समाजले नै प्रतिपक्षीको भूमिका खेल्नुपर्ने हुन्छ ।
अहिले प्रधानमन्त्री केपी ओली एकदमै शक्तिशाली बन्नुभएको छ । उहाँले अहिले आफ्नो पार्टीलाई त नियन्त्रणमा लिनुभएको छ । अब सरकारलाई पनि भ्रष्टाचारमुक्त बनाउनका लागि शक्तिको प्रयोग गर्नुपर्छ । विगतमा यत्तिको शक्ति भएको सरकार कहिल्यै पनि बनेको थिएन । तर ओलीले कसरी काम गर्नुहुन्छ, त्यसमा भर पर्छ । उहाँले लालबाबु पण्डितले जस्तै उदाहरणीय काम गनुपर्छ ।
कैलाली हत्याकाण्डका योजनाकार भनिएका रेशम चौधरीको विषय अहिले चर्चामा छ । यो विषयमा नियम कानुनअनुसार काम गर्नुपर्छ । विशुद्ध रुपमा छानबिन गरेर न्यायालयले जे भन्छ त्यही हामीले मान्नुपर्छ । अहिले हामीले यो गर त्यो गर भन्न मिल्दैन । कानुनी राज्य चाहिन्छ । यस विषयमा सरकार गम्भीर हुनुपर्छ ।
शनिवारका दिन सार्वजनिक सवारी साधनको दुरुपयोग गर्न नदिने भनेर सरकारले भनेको छ । शनिवार मात्रै होइन, कुनै पनि दिन दुरुपयोग गर्न मिल्दैन । दुरुपयोग भनेको भ्रष्टाचार हो । सरकारले पनि उचित कदम चाल्नुपर्छ । अनुचित काम कुनै पनि दिन गर्न पाईदैन ।
अब नागरिक समाजले सरकारको कामविरुद्धमा आन्दोलन गर्न नपरोस् । सुशासन हुन्छ कि हुँदैन, हामी नजिकबाट हेर्छौँ । दिनको सुर्योदयबाट हुन्छ । ओली नेतृत्वको सरकार कसरी अगाडि बढ्छ, हामी हेर्छौँ । केही दिनअघि बसेको नागरिक समाजको भेलाले पनि यही निष्कर्ष निकालेको छ ।
(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग गरिएको कुराकानी)
(प्रस्तुति कमलमणि पोख्रेल)
चैत ६, काठमाण्डौ ।