आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस । नेपाली राजनीतिक परिवर्तनमा अतुलनीय योगदान पुर्याएका कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो । कांग्रेसका सभापति र प्रधानमन्त्रीसमेत भएर देश र जनताका लागि जीवन समर्पित गरेका कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेस नेता रामचन्द्र पौडेलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । कोइरालासँग नजिक रहेर लामो समय राजीतिक गरेका पौडेलसँग धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईले चिनेको गिरिजाप्रसाद कोइराला कस्तो हुनुहुन्थ्यो ?
नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले इतिहास निर्माण गर्नुभएको छ । शान्ति र क्रान्ति दुवै चरणको नेतृत्व उहाँले नै गर्नुभयो । उहाँ शान्ति र क्रान्ति दुवैको नायक हो । हिंसा, हत्या र आतंकलाई शान्तिमा रुपान्तरण उहाँले नै गर्नुभयो ।
गिरिजाप्रसाद कोइरालासँगको अन्तिम क्षणलाई कसरी सम्झनुहुन्छ ?
मलाई जीवनमा उहाँबाट धेरै प्रेरणा मिलेको छ । दुईवटा कुरा म कहिल्यै पनि भुल्न सक्दिन । एउटा, विपिले भन्नुभएको थियो, मानिसमा प्रतिवद्धता हुनुपर्छ । कमिटमेन्ट नभएपछि जे काम गरे पनि अर्थ छैन । कमिटमेन्ट भन्ने शब्दले धेरै गहिरो अर्थ लाग्छ । अर्को गिरिजाले भनेको कुरा, धर्यता राख्नुपर्छ भन्नुहन्थ्यो । सुरजपुरा काण्डमा हामी एउटा घरमा बसेको बेला घरमै आगो लगाएर मार्ने षडयन्त्र थियो । तर उहाँ ढुक्कसँग बसेर चुरोट तानिरहनुभएको थियो । हामीहरु अत्तिएका थियौँ, विचलित थियौँ । तर उहाँ विचलित हुनुभएन । त्यस्ता धेरै ठूला घटनामा उहाँले कहिल्यै पनि संयमता गुमाउनुभएन । यही कुरा मैले सुजातालाई पनि यो कुरा सुनाएको थिएँ । तपाई पनि संयमता अपनाउनुस् भनेको थिएँ । त्यसैले मलाई उहाँले भन्ने गरेको संयम भन्ने शब्द सधैँ सम्झिन्छु ।
गिरिजाप्रसाद कोइरालाको निर्णायक भूमिका नभएको भए नेपालमा गणतन्त्र आउन सक्दैनथ्यो भनेर कम्युनिष्ट नेताहरुले नै भन्नुभएको छ । तपाईलाई के लाग्छ ?
शान्तिपूर्ण रुपमा गणतन्त्र आउन सक्दैनथ्यो । गिरिजालाई राजा र माओवादी दुवैले विश्वास गर्दा गणतन्त्र शान्तिपूर्ण रुपमा ल्याउन सकिएको हो । गिरिजाले राजा फाल्दैनन् भन्ने विश्वास राजालाई थियो । तर गिरिजाबाबु राजतन्त्रबाट वाक्क भइसक्नुभएको थियो । पहिला विपि र राजाकोबिचमा पनि काम गर्ने मौका पाउनुभएको थियो । त्योबेलादेखि नै गिरिजाबाबु दरबार जाने आउन गर्नुहुन्थ्यो । दरबारले पनि गिरिजासँग सम्बन्ध जोडेको थियो । त्यसैले गणतन्त्र घोषणा भएपछि पनि राजाले आफूलाई कहीँ न कहीँ ठाउँ दिन्छन् भन्ने लागेर नै शान्तिपूर्ण रुपमा दरबार छोडेका हुन् । राजाले गिरिजालाई विश्वास गरेकै कारण दरबारबाट बाहिरिएका हुन कि जस्तो लाग्छ । त्यसैले गिरिजाले माओवादी र राजा दुवै पक्षलाई शान्तिपूर्ण रुपमा अवतरण गराउन सफल हुनुभयो । उहाँको व्यक्तित्वले काम गरेको हो ।
तर कांग्रेसले त उहाँलाई विर्सियो नि ?
अहिले हाम्रो पार्टीमा उहाँप्रतिको कृतज्ञता कमी देखिएको छ । यस्ता कुरामा पार्टीले ध्यान पुर्याउनुपर्ने हो । इतिहासप्रति सम्मान गर्ने, धरोहरप्रति श्रद्धा व्यक्त गर्दै आफू पनि प्रेरित हुने काम गर्नुपर्ने हो । केन्द्रिय कार्यालयबाट यस्ता काम भइरहेको छैन । कांग्रेसको केन्द्रिय कार्यालय नै सुस्ताएको छ । किशुनजी, सुवर्णशमशेर, शुशील जस्ता नेताहरुलाई विर्सिन काम भएको छ ।
कांग्रेसका महान नेताहरुलाई किन यसरी वेवास्ता भइरहेको छ ?
अब महान नेताहरुको सम्झना गरेपछि आफू पनि महान बन्नुपर्छ । महान बन्नका लागि अप्ठ्यारो बाटो हिँड्नुपर्छ । अप्ठ्यारो बाटो किन हिँड्ने भन्ने लाग्या होला नेतृत्वलाई ।
महान नेताहरुले मार्गदर्शन गरेको कांग्रेस अहिले किन कमजोर भयो ?
गिरिजाबाबुले जस्तो मिहिनेती कोही पनि छैनन् अहिले । उहाँले जनताको मनमा आफूलाई मिसाएर काम गर्नुहुन्थ्यो । उहाँको भूमिकाले कांग्रेस लोकप्रिय पार्टी बनेको थियो । सिके प्रसाईले भन्नुहुन्थ्यो, गिरिजाबाबु विश्रामहिन नेता हो । वास्तवमा नै उहाँ विश्राम नलिई काम गर्नुहुन्थ्यो । यही चरित्रका कारण आज कांग्रेस यत्तिको संस्था बन्यो ।
तर आज कांग्रेसले आज विश्राम लिइसक्यो ।
अहिले त विश्रामै विश्राम जस्तो देखिन्छ । कतै काम भइरहेको छैन । पार्टीका संगठनहरु लथालिङ्ग छ । कार्यकर्ताहरु पनि नेतृत्व जस्तो भयो त्यस्तै बन्दारहेछन् । नेतृत्वको आचरणले कार्यकर्तालाई पनि असर गरेको छ । नेतृत्वले जस्तो आँचरण र व्यवहार गर्छ, अनुयायीहरुले पनि अनुकरण गर्छन् भन्ने भनाई छ । अहिले कांग्रेस त्यस्तै अवस्थामा छ । नयाँ मान्छेलाई कांग्रेस बनाउने कोसिस भएको छैन । संगठन विस्तार पनि हुँदैन । पार्टीभित्रका कमिटिहरुको बैठक पनि बस्दैन । पार्टीभित्र भइफुट्टा वर्ग हाबी भएको छ ।
कांग्रेसभित्रको गुटगत राजनीतिका कारण समस्या देखिएको कतिपयको आरोप छ नि ?
भैँस के आगे बैण्ड बजाना भन्छन् । धेरै कार्यकर्ताहरु पार्टीमा एकता होस भन्ने चाहनुहुन्छ । पार्टीमा गुटबन्दी नहोस्, अन्याय नहोस् भन्ने चाहना धेरैको छ । तर त्यस्तो हुन सकेको छैन ।
अब बस्ने केन्द्रिय समिति बैठकमा सभापति शेरबहादुर देउवाले के गर्नुपर्छ ?
मैले त उहाँलाई सभापतिमा निर्वाचित भएपछि नै तपाई कांग्रेसको सभापति हुनुभएको छ, अब तपाई सिमित मान्छेको घेरामा बस्नुपर्ने आवश्यकता छैन, गुटबन्दीको घेराबाट बाहिर निस्कन सुझाब दिएको थिएँ । कार्यकर्तालाई सही मूल्याङ्कनका आधारमा परिचालन गर्नुस्, मेरोतर्फबाट सहयोग गर्छु भनेको थिएँ । तर उहाँले पुरानै बानी बेहोरा परिवर्तन गर्नुभएन । कांग्रेसको समस्या नै यही हो । यस विषयमा अब बस्ने बैठकमा सभापतिले सबैको चित्त बुझ्ने गरी जवाफ दिनुपर्छ ।
कांग्रेसभित्रको समस्या समाधानका लागि अब के गर्नुपर्छ ?
संगठनमा पारदर्शिता हुनुपर्छ । क्रियाशिल सदस्यता वितरणमा हेराफेरी हुनु भएन । चुनावमा फोहोरी खेल हुनुभएन । कार्यकर्ताले स्वच्छ ढंगले आफ्नो नेतृत्व चयन गर्न पाउने निर्मल वातावरण बनाउनुपर्छ । पार्टीलाई प्रजातन्त्रको प्रतिक बनाउनुपर्छ ।
सभापति देउवाले तपाईले भनेजस्तो काम गर्नुहोला ?
काम गर्न सके सबैको नेता बन्नुहुन्छ । नसके आलोचित बन्नुहुन्छ ।
देउवाले नेतृत्व छोड्नुपर्छ भन्ने तपाईको भनाई हो ?
उहाँमा अहिले नै दबाब सृजना भइसकेको छ । अहिले जुन शैलीमा काम गरिरहनुभएको त्यो परिवर्तन गर्नु जरुरी छ । सुध्रिएदेखि राम्रै हुन्थ्यो । म त उहाँसँगै जेल बसेको मान्छे । उहाँ र म बिचमा त प्रेम र आकर्षण पनि छ । माया र घृणा पनि छ । सँगै संघर्ष गरेको साथी हो, तर व्यवहार राम्रो भएन ।
तर तपाईले सहयोग गर्नुभएन भन्ने आरोप छ नि ?
मैले त अवसर आउँदा र नियुक्ति गर्दा पार्टीभित्र योगदान गरेकालाई प्राथमिकता दिनुपर्छ भन्ने गरेको छु । मैले साथीहरुकै लागि बोल्ने गरेको छु । अन्यायमा परेकाहरुलाई सम्मान गर्नुपर्छ भन्ने गरेको छु । त्यसैगरी के काम गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भनेर मैले सल्लाह दिने गरेको छु । कतिपय कुरा पार्टीलाई अप्ठ्यारा पर्ला भनेर म आफैँ अन्याय सहेर बसेको छु । मनकै कुरा राखेको छु । यसो गर्दा लागेको अरोपका बारेमा केही भन्नु छैन ।