चितवन, ७ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उहाँले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले आजै प्रदेश नं ३ र प्रदेश नं ४ ले आज भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं ।”
उहाँले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ । त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ ।” उहाँले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरुबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको बताउँदै भन्नुभयो, “नोट चल्ने भोट नचल्ने जुन प्रणाली छ यो परिवर्तन हुनुपर्दछ ।”
कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो । उक्त वाचनमा देशमा समस्या छ, समस्याका कारण छ । समस्याको निवारण छ, पाँच ‘स’को माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने वाक्यांश शुरु गरी पाँच बुँदे घोषणाको सामूहिक पाठ गरिएको थियो । (रासस)