Logo

राप्रपाले वैचारिक दृष्टिकोणलाई परिवर्तन नगर्ने



काठमाडौँ, ९ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले लिँदै आएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायत सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणलाई परिवर्तन नगर्ने भएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारीलगायत शीर्ष नेतृत्व तहका नेताको सहभागितामा भएको उच्चस्तरीय अनुशिक्षण बैठकले वैचारिक कारणले पार्टी पराजय नभएको निष्कर्ष निकालेको छ ।

बिहीबारदेखि शुरु भई आज सम्पन्न उक्त बैठकले दलभित्रको आन्तरिक विवाद, संगठन निर्माणमा देखिएको सुस्तताका कारण चुनावमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको ठहर गरेको छ ।

पार्टीमा संगठन सुदृढीकरणका विषयमा छलफल भएको उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टी सञ्चालनका लागि सशक्त भई नेतृत्व प्रदान गर्नुपर्ने सहभागीबाट सुझाव आएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष थापाले पार्टीलाई जनताको विकास र समाजसेवाका माध्यमलाई आधार बनाएर नयाँ ढंगबाट उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुलुकमा हालै सम्पन्न भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजाय भएपछि नयाँ वैचारिक धारसहितको नयाँ नेतृत्वका लागि कार्यकर्ताबाट माग भइरहेको थियो । विभिन्न दलका नाममा छरिएका राप्रपा पुनः एकताका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा पनि सामान्य छलफल भएको बताइएको छ ।

विभिन्न शिरामा विभाजित राप्रपा करिब एक वर्ष अगाडि एकीकृत भएको भए पनि वैचारिक दृष्टकोणमा प्रष्ट नहुँदा हाल तीन भागमा टुक्रिएको छ । युवा वर्गलाई विभिन्न सिर्जनात्मक माध्यमबाट उत्पादनमा क्रियाशील गराई उनीहरुलाई पार्टीमा आकर्षित गराउनुपर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्